वेस्ट इन्डिजविरुद्धको शानदार श्रृखंला जित र टी–२० विश्वकप छनोटका सबै खेल जित्दै उत्कृष्ट लयमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली भोलिदेखि युएईमा एकदिवसीय श्रृंखला खेल्दैछ।
सन् २०२७ को विश्वकप छनोट प्रतियोगिताका रूपमा रहेको आइसिसी मेन्स क्रिकेट वल्र्ड कप लिग–२ अन्तर्गत युएई र संयुक्त राज्य अमेरिकासँगको त्रिकोणीय श्रृंखला भोलिदेखि सुरु हुन लागेको हो। श्रृंखलाको पहिलो खेल नेपाल र अमेरिकाबिच हुने तय छ। खेल नेपाली समयअनुसार बिहान ११ः१५ मा सुरु हुनेछ।
सन् २०२४ बाट सुरु भएको यो लिग–२ मा हालसम्म नेपालको अवस्था निराशाजनक छ। लिगमा हालसम्म १६ खेल खेलेको नेपालले पाँच जित, नौ हार र दुई नतिजाबिहीनसहित १२ अंक जोडेको छ। जुन अंकले नेपाललाई हाल अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा राखेको छ।
युएईमा हुन लागेको यो श्रृंखलाबाट नेपालले लिगका पुनरागमन गर्ने लक्ष्य राखेको छ। खाडी भूमि(युएई र ओमान)मा भर्खरै सम्पन्न दुई टी–२० प्रतियोगितामा आर्जन गरेको उत्साहसहित नेपाली टोली यो त्रिकोणीय श्रृंखलामा सहभागी हुन लागेकाले मनोबल उच्च छ।
युएई र अमेरिका दुई नेपालका चीरपरिचित प्रतिस्पर्धी नै हुन्। युएईसँग त पछिल्लो समय नेपालको बारम्बार भेट भइरहेको छ। युएईको अवस्था लिग–२को अंकतालिकामा निकै खराब छ। उसले हालसम्म खेलेका १६ खेलमा जम्मा ६ अंक मात्रै जोडेर सबैभन्दा पुछारमा छ। यद्यपि उसको घरेलु मैदानमै खेल भइरहेकाले उसका लागि केही ‘एडभान्टेज’ हुनसक्छ।
अर्को प्रतिस्पर्धी अमेरिका लिग–२ मा हालसम्म निकै सुदृढ अवस्थामा छ। उसले हालसम्म २० खेलमा १४ जितसहित २८ अंक जोडेको छ। नेपाल र अमेरिकाले यसअघि आठ एकदिवसीय खेलेका छन्। जसमा चारचार खेल जितेका छन्।
नेपाललाई छैटौं स्थानमा उक्लिने अवसर
यो श्रृंखलाका नेपालले खेल्ने सबै चार खेलमा जित निकाल्नसके नेपाल लिग–२ को अंक तालिकाको छैटौं स्थानमा उक्लिने सम्भावना छ। यहाँ तीनवटै टोलीले एकअर्कासँग परस्पर दुई–दुई खेल खेल्नेछन्।
नेपालले चारवटै खेल जितेको अवस्थामा अंक तालिकामा २० खेलमा २० अंक जुटाउनेछ। जसले २४ खेलमा १९ अंक जोडेको नामिबियालाई उछिनेर छैटौं स्थानमा पुगाउनेछ।
सन् २०२४ देखि सुरु भएको यो लिगमा सन् २०२६ को अन्तिमसम्ममा प्रत्येक टोलीले आठवटा त्रिकोणीय श्रृंखला खेल्नेछन्। जसअनुसार हरेक टोलीले परस्पर चार÷चार खेल खेलेर कुल ३२ खेल खेल्नेछन्।
लिगको अंक तालिकामा शीर्ष चार स्थानमा रहेका टोलीले सिधै २०२७ को एकदिवसीय विश्वकप खेल्नेछन्। बाँकी चार टोलीले क्वालिफायर प्लेअफमार्फत आउनसक्ने सम्भावना रहनेछ। तर, पुछारमा रहँदा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता भने जोखिममा पर्नेछ।
नेपालका खेल
नेपालले यो त्रिकोणीय श्रंखलामा भोलि(अक्टोबर २६)मा पहिलो खेल अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ भने ३० अक्टोबरमा(कात्तिक १३ गते)युएईसँग खेल्नेछ।
यस्तै तेस्रो खेल अमेरिकासँग नोभेम्बर(कात्तिक १५)मा खेल्नेछ। अन्तिम खेल युएईसँग नोभेम्बर ५(कात्तिक १९) गते खेल्नेछ।
नेपाली टोली
नेपाल क्रिकेट संघले यो श्रृंखलाका लागि पछिल्लो टी–२० टिममा नअटाएका अनिल साह, भीम सार्की र शाहब आलमलाई समेटेको छ।
टिमको कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्रसिंह ऐरी नै कायम छन्। यस्तै ब्याटिङमा आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, गुल्शन झाले मोर्चा सम्हाल्नेछन्।
यस्तै सिम बलर करन केसी, सोमपाल कामी र नन्दन यादब तथा स्पिन बलरमा सन्दीप लामिछाने र ललित राजवंशी पनि निरन्तर छन्। नेपाली टोलीमा अधिकांश खेलाडी अलराउन्डर भूमिकामा पनि खेल्नसक्छन्।
प्रकाशित: ८ कार्तिक २०८२ १८:२२ शनिबार





