नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्ग आइतबार भइरहेको १९औं खेलमा कर्णाली याक्सले काठमाडौं गोर्खाजसामु जितका लागि १५० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४९ रनको योगफल तयार पारेको हो।
कर्णालीको सुरुवात निकै दयनीय रह्यो। पहिलो ओभरको पहिलो बलमै ओपनर प्रियांक पञ्चल शून्य रनमा करण केसीको शिकार बने। लगत्तै अर्का ओपनर विलियम बोसिस्टो पनि १ रनमै रनआउट हुँदा कर्णालीले पहिलो ओभरमै २ विकेट गुमाएर जम्मा १ रन जोडेको थियो।
सुरुवाती दबाबका बाबजुद मध्यक्रममा मार्क वाट र पवन सर्राफले इनिङ्स सम्हाल्ने प्रयास गरे। मार्क वाटले २७ बलमा ३० रन बनाए भने पवन सर्राफले २९ बलमा ३५ रनको योगदान दिए। नजिबुललाह जाद्रानले १२ रन जोडे।
एक समय सामान्य योगफलमा समेटिने डरमा रहेको कर्णालीलाई गुल्सन झाले अन्तिममा आक्रामक ब्याटिङ गर्दै उकासेका हुन्।
सातौँ नम्बरमा ब्याटिङ गर्न आएका झाले मात्र २२ बलको सामना गर्दै अविजित ४९ रन बनाए। २२२.७२ को स्ट्राइक रेटमा ब्याटिङ गरेका उनले ६ चौका र ३ छक्का प्रहार गरे। उनी अर्धशतक पूरा गर्नबाट १ रनले चुके।
कप्तान सोमपाल कामी ६ रन र दीपक डुम्रे १० रनमा आउट भए भने नन्दन यादव १ रनमा अविजित रहे।
बलिङतर्फ काठमाडौं गोर्खाजका रासिद खानले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए।
कप्तान करण केसीले ४ ओभरमा २६ रन दिँदै १ विकेट लिए। त्यस्तै, मिलिन्द कुमार र सन्तोष यादवले पनि १–१ विकेट हात पारे।
काठमाडौँ गोर्खाजले केही बेरमा जवाफी ब्याटिङ सुरु गर्नेछ।
प्रकाशित: १४ मंसिर २०८२ १७:११ आइतबार





