२० मंसिर २०८२ शनिबार
image/svg+xml
खेल

शीर्ष चारको होडमा काठमान्डु

लुम्बिनीको विकेट लिएपछि काठमान्डु गोर्खाजका खेलाडी। तस्बिर : क्यान

अन्तिम १० ओभर आक्रामक ब्याटिङ गरेको काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा दोस्रो जित निकाल्दै शीर्ष चारको होड कायमै राखेको छ।

कीर्तिपुरमा आफ्नो चौथो खेलमा काठमान्डुले मंगलबार लुम्बिनी लायन्समाथि २२ रनको जितसँगै जारी एनपिएलमा चौथो खेलबाट दोस्रो सफलता पायो। पहिलो संस्करणमा नेट रनरेटका आधारमा पाँचौं स्थानमा सीमित हुँदा काठमान्डु प्लेअफमा पुग्न चुकेको थियो। जितबाट दोस्रो सिजन सुरु गरेको काठमान्डु त्यसपछिका दुई खेलमा हार बेहोर्दा दबाबमा पर्‍यो। त्यसैले पनि प्लेअफ होड जारी राख्न काठमान्डु समक्ष मंगलबार लुम्बिनीलाई हराउनुको विकल्प थिएन। कप्तान करण केसीको अलराउन्ड प्रदर्शनपछि काठमान्डुले लुम्बिनीमाथि जित रच्यो। यससँगै लुम्बिनीले दोस्रो हार सामना गरेको छ। 

गत संस्करण पुछारको टोली लुम्बिनीले चितवन राइनोजलाई हराउँदै सुखद सुरुआत गरेको थियो। लय जारी राख्न नसक्दा रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीमाथि दबाब बढेको छ। साथै लुम्बिनीको प्लेअफ सम्भावना कमजोर बन्न सक्नेछ। तर, अलराउन्डर शेर मल्लले अझै तीन खेल बाँकी रहेकाले शीर्ष चारमा पुग्ने सम्भावना कमजोर नभएको बताउँछन्। ‘भर्खर तीन खेल भयो। अहिले नै कमजोर भयो भन्न मिल्दैन। तीन खेल बाँकी छन् र सम्भावना बाँकी छ। आगामी खेलमा राम्रो गर्नेछौं,’शेरले भने। त्रिवि क्रिकेट मैदानमा काठमान्डुले एक सय ५८ रनको लक्ष्य दियो। 

एक समय काठमान्डु कमजोर लक्ष्यतर्फ देखिन्थ्यो। तर, अन्तिम १० ओभरमा १०१ रन जोड्दै काठमान्डुले राम्रो लक्ष्य दिएको हो। जबाफमा लुम्बिनीले पूरै ओभर खेले पनि लक्ष्य भेट्टाउन सकेन र १९.१ ओभरमा एक सय ३५ रनमै अलआउट भयो। नवौं नम्बरमा आएका शेरले २७ रन जोडे। जुन सर्वाधिक ठूलो व्यक्तिगत रन रह्यो। राम्रो साझेदारी गर्न नसक्दा लुम्बिनीले अर्को हार सामना गरेको छ। ओपनर सन्दीप जोरा ७ रनमै आउट भए। अर्का ओपनर डार्सी सटले २२ रन जोड्दै इनिङ उकास्ने प्रयास गरे। ११ बल खेलेका उनले तीन चौका र एक छक्का हिर्काए। उनी चौथो ओभरमा मिलिन्द कुमारबाट आउट भए।

कप्तान रोहित र अफगानी ब्याटर गुल्बदिन नैइब पनि लामो सयम क्रिजमा टिक्न सकेनन्। दुवै समान ११ रनमा पभेलियन फर्किए। मध्य क्रमका ब्याटर दिलीप नाथले इनिङ समाल्ने प्रयास गरे। तर, अर्को छेउबाट लगातार विकेट गयो। जेजे स्मित ८ रन, सुमित महर्जन शून्यमा र रुबेन ट्रम्पलमेन ५ रनमा आउट भए। १६औं ओभरमा दिलीपको विकेट पनि गयो। उनी २५ रनमा करणद्वारा पभेलियन फर्किए। उनको इनिङमा समान एक चौका र छक्का रह्यो। शेरले १७औं ओभरमा जितको आशा जगाए। साहब आलमको बलिङमा उनले तीन छक्का प्रहार गर्दै आशा जगाएका हुन्। तर, १८औं ओभरको पहिलो बलमा उनी रनआउट हुन पुगे र काठमान्डुले पुनरागमन गर्‍यो।  

काठमान्डुको बलिङमा मिलिन्द र जेरार्ड इरासमसले समान दुई तथा करण, साहब, सन्तोष यादव र रासिद खानले समान एक विकेट लिए। टस हारेर ब्याटिङको निम्तो पाएको काठमान्डुले आठ विकेट गुमाउँदै एक सय ५७ रनको योगफल बनाएको थियो। पहिलो १० ओभरमा काठमान्डु ५६/२ को अवस्थामा थियो। त्यसपछि काठमान्डुले रनको गति बढायो। काठमान्डुका लागि १५औं र १९औं ओभर महत्त्वपूर्ण रह्यो। काठमान्डुले क्रमशः १६ र ३१ रन जोड्यो। तल्लो क्रमका ब्याटर तथा कप्तान करणले रुबेन ट्रम्पलमेनको १९औं ओभरमा चार छक्का र एक चौका हिर्काउँदै राम्रो योगफलसम्म पुर्‍याए। ११ बलमा करणले ३४ रन जोड्दा एक चौका र चार छक्का प्रहार गरे। आठौं विकेटका लागि करण र आदिल आलमबीच ३४ रनको साझेदारी बन्यो। 

त्यसअघि माथिल्ला क्रमका ब्याटरले ठूलो इनिङ खेल्न सकेनन्। ओपनर आकाश त्रिपाठीले ३२ रन जोड्दा तीन चौका हिर्काए। मध्यक्रमका ब्याटर सन्तोष यादवले २६ रन जोड्दा मिलिन्द र जेरार्डले समान १७ रन र रसिदले १४ रन जोडे। लुम्बिनीको बलिङमा ट्रम्पलमेन, शेर, गुल्बदिन र रोहितको नाममा समान दुई विकेट रह्यो। लुम्बिनीका अलराउन्डर शेर मल्लले आफू क्रिजमा रहँदा जिताउँछु भनेर खेलेको बताए। आज जिताउँछु नै भनेर आत्मविश्वास रहे पनि रनआउटसँगै लक्ष्य पूरा नभएको उनले उल्लेख गरे। काठमान्डुका ओपनर आकाश त्रिपाठीले विकेट बाँकी रहे अन्तिम पाँच ओभरमा राम्रो ब्याटिङ गर्न सकिने योजनाअनुरूप खेलिएको बताए।

प्रकाशित: १० मंसिर २०८२ ०६:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App