२१ मंसिर २०८२ आइतबार
image/svg+xml
समाज

गाउँपालिका र प्रशासनको निर्देशनपछि रोकियो अबैंध उत्खनन्

बजार क्षेत्रकै घर घेउमा जेसिबी लगाएर खनेको खाल्डो । तस्बिरः महेश्वर

रौतामाई गाउँपालिका ७ मुर्कुची बजारक्षेत्रमा भईरहेको अवैध ढुङ्गा माटो उत्खनन् कार्य रोकिएको छ । करिब दुई सातायता बजारक्षेत्रको जमिनमा भईरहेको ढुङ्गा माटो उत्खनन् र बिक्री वितरण कार्य जिल्ला प्रशासन र गाउँपालिकाको निर्देशनपछि रोकिएको हो ।

स्थानीय युवा तथा जेनजी समूहले बजारक्षेत्रकै जमिनबाट लगातार ढुङ्गा माटो उत्खनन् तथा विक्री वितरण कार्य रौतामाई गाउँपालिकाका पूर्व अध्यक्ष गजेन्द्र खड्काबाटै भए पनि कसैले चासो नदिएको गुनासो गरेका थिए ।  

उनीहरुको गुनासोपछि गाउँपालिकाले चासो लिदै उत्खनन् कार्यको कानुनी आधार खोज्न सम्बन्धित व्यक्तिलाई सचेत गराएको थियो । त्यसैगरि प्रशासनले पनि सर्वसाधारणको उजुरीको आधारमा अनुगमन गरेपछि उत्खनन कार्य रोकिएको हो ।  

पूर्व अध्यक्ष खड्काले बजारक्षेत्रको जग्गा प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) नै नगरि ढुङ्गा माटो उत्खनन गर्दै बिक्री गरे पनि नियामक निकायले बेवास्ता गरेको भन्दै बजारबासीको गुनासो गरेका थिए ।  

यो विषयमा बजारबासीले प्रशासन, वडा कार्यालय र गाउँपालिकासम्मै गुनासो गरेका थिए । सर्वसाधारणको गुनासो आएपछि गाउँपालिका अध्यक्ष वीरेन्द्र मगरले निर्माण व्यवसायीसमेत रहेका पूर्व अध्यक्ष खड्कालाई उत्खननको कानुनी आधारबारे सचेत गराएका थिए ।  

जनचासो बढेपछि आफूले खड्कालाई सचेत गराएको र जिल्ला प्रशासनले पनि तत्काल सो कार्य यथास्थितिमा राख्न निर्देशन दिएपछि अहिले उत्खनन् र विक्री वितरण रोकिएको अध्यक्ष मगरले बताए ।  

उनले निजी जमिन भए पनि न्यूनतम कानुनी आधार पुरा गर्नुपर्ने विषयमा पूर्व अध्यक्ष खड्कालाई गाउँपालिका र प्रशासन दुवैले सचेत गराएको बताए ।  

खड्काले भने आफ्नो निजी स्वामित्वको जमिनबाट ढुङ्गा उत्खनन गरेर व्यक्तिगत प्रयोजनका लागि बिक्री गरेको बताए । त्यो जमिन आफ्नै नामको रहेको र त्यहाँबाट उत्खनन गरेको ढुङ्गा निर्माणाधीन मुर्कची–पुवारे–रौता निकास सडक खण्ड निर्माणमा लगाएको उनले बताए । सडक पनि आफ्नै गाउँठाउँको भएको र त्यसका लागि आवश्यक पर्ने ढुङ्गा माटो सडक निर्माण कम्पनी अजय–स्वयम्भु–लामा जेभीलाई दिएको उनको भनाई छ ।  

निर्माण कम्पनी जेवीका प्रतिनिधि उद्धव राउतले सडक निर्माण गर्न ढुङ्गा माटो आवश्यक भएकाले खोजी गर्ने क्रममा मुर्कुचीमै फेला परेपछि खरिद गरेर प्रयोगमा ल्याएको बताएका छन् । आफुलाई ढुङ्गा माटो चाहिएको तर, वैध अवैध कस्तो जमिनको हो भन्नेसँग सरोकार नरहेको राउतले बताए ।  

निजी जमिनको भए पनि गाउँपालिका र वडा कार्यालयसँग समन्वय गरि कानुनी प्रक्रिया पुरा गरेर मात्र उत्खनन र विक्री वितरण गनुपर्ने युवाहरुको भनाई रहेको छ । युवाहरुका अनुसार उत्खनन गरिएको जमिन पूर्व अध्यक्ष खड्का र अर्का एक बाँसघारे बा भन्ने स्थानीयको स्वामित्वको हो ।  

निजी जमिन भएकाले उत्खनन र विक्री वितरण गर्ने अधिकार भए पनि कानुनी प्रक्रिया केही पूरा नगरेकोमा आपत्री रहेको युवाहरु बताउँछन् ।  

प्रकाशित: २० मंसिर २०८२ १८:५४ शनिबार