२१ मंसिर २०८२ आइतबार
image/svg+xml
राजनीति

पार्टीको नेतृत्व लिन तयार छु, चाँडै नै देश दौडाहामा जान्छु: गगन

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्ने बताएका छन्।

नयाँ नीति र सन्देशसहित पार्टीको नेतृत्व लिन आफू तयार रहेको भन्दै उनले यसका लागि चाँडै नै देश दौडाहामा निस्किने बताएका हुन्।

बिहीबार नेपाल प्रेस युनियन सर्लाहीले सदरमुकाम मलङ्गवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री थापाले आगामी आम निर्वाचनमा पनि आफू काठमाडौंबाटै प्रतिस्पर्धा गर्ने स्पष्ट पारे।

महामन्त्री थापाले पार्टीको १५औँ महाधिवेशन र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीलाई सँगसँगै अगाडि बढाइने बताए।

कतिपय नेतामा महाधिवेशनमा लाग्दा निर्वाचनको तयारी नपुग्ने चिन्ता देखिएको भन्दै उनले दुवै कामलाई सन्तुलित रूपमा अघि बढाउने नीति लिइएको प्रष्ट्याए।

‘महाधिवेशन गर्ने कि नगर्ने भन्ने बहसमा केही समय खेर गए पनि अब छोटो समयमा महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा होमिनुपर्छ,’ थापाले भने, ‘फागुन २१ को निर्वाचनले संविधानमाथिको थप क्षति हुन नदिने भएकाले हामी यसप्रति पूर्ण प्रतिबद्ध छौँ।’

पत्रकार सम्मेलनमा महामन्त्री थापाले जेनजी प्रदर्शनपछि फरार रहेका कैदीबन्दी र लुटिएका हतियार आगामी निर्वाचनका लागि सुरक्षा चुनौती बन्न सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराए।

प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार आयोजना गरेको सर्वदलीय बैठकमा पनि आफूले यिनै विषयमा कुरा राखेको जानकारी दिँदै उनले भने, ‘सरकारले समयमै आपराधिक गतिविधि नियन्त्रण गरी सम्पूर्ण संशय हटाएर निर्वाचन गराउने वातावरण बनाउनुपर्छ।’

उनले सबै राजनीतिक दल र समूहले चुनावमा भाग लिन पाउने वातावरण सिर्जना गर्नुपर्नेमा समेत जोड दिए।

प्रकाशित: २० मंसिर २०८२ १८:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App