कीर्तिपुरमा शनिबार वाटको विशेष बन्दा कर्णालीले पनि दोस्रो सिजनमा जितको स्वाद चाख्यो। वाटको करियरकै पहिलो शतकमा कर्णालीले लुम्बिनी लायन्समाथि ९ विकेटको फराकिलो जित निकालेको हो। शनिबारकै दोस्रो खेलमा विराटनगर किङ्सले काठमान्डु गोर्खाजमाथि पाँच विकेटको नतिजा निकाल्दै लगातार दोस्रो जित आत्मसात् गर्यो। विराटनगर यस सिजन दुई जित निकाल्ने दोस्रो टोली हो। यसअघि सुदूरपश्चिम रोयल्सले पनि दुई जित निकालेको थियो। दोस्रो खेलमा कर्णालीले पहिलो जित निकाल्दा वाटको एक सय १४ रनमा अविजित इनिङ महत्त्वपूर्ण रह्यो।
यो उनकै करियरकै पहिलो शतक पनि हो। नेपाली समर्थकमाझ शतक बनाउनु आफ्ना लागि विशेष क्षण रहेको वाटले प्रतिक्रिया दिए। वार्टले बलिङमा एक विकेटको योगदान पनि दिएका थिए। गत सिजन क्वालिफायरसम्म पुगेको कर्णालीले बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्दै उत्कृष्ट नतिजा निकालेको हो। कर्णाली पहिलो खेलमा चितवन राइनोजसँग चार विकेट पराजित भएको थियो। लुम्बिनीको भने दोस्रो खेलमा पहिलो हार हो। पहिलो खेलमा लुम्बिनीले चितवनलाई हराएको थियो।
त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले एक सय ५७ रनको लक्ष्य दियो। तर, कर्णालीले १२.२ ओभरमा मात्र एक विकेटको क्षतिमा लक्ष्य भेट्टायो। ओपनर प्रियान्क पन्चल १२ रनमै आउट भए। पावरप्लेमा एक विकेट पतन भए पनि कर्णालीले ६३ रन जोड्यो। दोस्रो विकेटका लागि वाट र विलियम बोसिस्टोबीच एक सय २३ रनको अविजित साझेदारी बन्यो। यो साझेदारीसँगै कर्णालीले ४६ बलअगावै जित सुरक्षित गर्यो। वाटले ४४ बलमा १२ चौका र ६ छक्का हिर्काउँदै आक्रामक ब्याटिङ गरे। उनले ४१ बलमै शतक पूरा गरे। बोसिस्टो २९ रनमा अविजित रहे। २० बल खेलेका उनको इनिङमा दुई चौका र एक छक्का रह्यो।
लुम्बिनीको बलिङमा शेर मल्लले एक विकेट लिए। सात बलर प्रयोग गरे पनि लुम्बिनीले लक्ष्य रक्षा गर्न सकेन। रुबेन ट्रम्पलमेनबाहेक सबै बलर महँगा भए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले पूरै ओभरमा आठ विकेट गुमाउँदा एक सय ५६ रनको योगफल बनायो। पहिलो ओभरमै ओपनर सन्दीप जोरा एक रनमै आउट भए। त्यसपछि दबाबमा परेको लुम्बिनीले पावरप्लेमा राम्रो रन जोड्न सकेन। ओपनर डार्सी सर्ट र कप्तान रोहित पौडेलले ३६ रनको साझेदारी गरे। डार्सी १९ रनमै आउट भए। त्यसपछि तीन ब्याटर दिलीप नाथ ६, गुल्बदिन नैब र सुमित महर्जन ४ रनमै पभेलियन फर्किए।
युवा स्पिनर विपिन शर्माले ११औं ओभरमा गुल्बदिनलाई एलबिडब्लु शिकार बनाए र लुम्बिनीको चौथो विकेट पतन भयो। १३.४ ओभरमा लुम्बिनी ७८/५ को अवस्थामा पुग्यो। तर, रोहितले छैटौं विकेटका लागि जेजे स्मितसँग ३५ रनको साझेदारी गरे। १७औं ओभरमा रोहित ४९ रनमा आउट भए।
फेरि लुम्बिनीले लगातार विकेट गुमायो तर, रुबेनले १४ बलमा नटआउट २९ रन रहे। लुम्बिनीको इनिङ राम्रो स्थितिमा पुर्याए। उनले एक चौका र तीन छक्का प्रहार गरे। स्मितले १४ बलमा २३ रन जोड्दा दुई चौका र एक छक्का हिर्काए। कर्णालीको बलिङमा नन्दन यादवले दुई तथा सोमपाल कामी, गुलसन झा, वाट, विपिन र युवराज खत्रीले समान एक विकेट लिए।
काठमान्डुको दोस्रो हार
खराब ब्याटिङसँगै काठमान्डुले एनपिएलको लगातार दोस्रो हार बेहारेको छ। कीर्तिपुरमा आफ्नो तेस्रो खेलमा काठमान्डु शनिबार विराटनगरसँग पाँच विकेटले पराजित हुन पुग्यो।
काठमान्डुसँगै पोखरा एभेन्जर्स दुई हार नै बेहोर्ने टोली हो। विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले हराएको थियो। यस क्रममा विराटनगरले एनपिएलकै सबैभन्दा ठूलो (२२० रन) योगफल पनि बनाएको थियो। दोस्रो खेलमा पनि विराटनगरले ब्याटिङसँगै बलिङमा राम्रो गरेपछि सहज जित आत्मसात् गर्यो। काठमान्डुले एक सय ३५ रनको सामान्य लक्ष्य दिएको थियो। त्यो लक्ष्य विराटनगरले १७.१ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो। विराटगरका जर्ज मुन्सीले ३६ रन जोड्दा मार्टिन गुप्टिलले २५ रन, नरेन भट्टले २४ रन र बसिर अहमदले १९ रनको योगदान दिए। ओपनर लोकेश बम १४ रनमै आउट भए।
तर, विराटनगरले पावरप्लेमा ६७ रन जोड्दै राम्रो सुरुआत गर्यो। ओपनर मुन्सी र मार्टिनले दोस्रो विकेटका लागि ५३ रनको साझेदारी गरे। सातौं ओभरमा साहब आलमले मार्टिनलाई इरासमसबाट क्याच गराए। मार्टिनले १९ बलमा दुई चौका र एक छक्का हिर्काए। उनी आउट हुँदा ६.४ ओभरमा विराटनगर ७४/२ को थियो। विराटनगरले थप १६ रन जोड्दा थप दुई विकेट गुमायो। तर, नरेनले इनिङ समाल्दै जितनजिक पुर्याए। काठमान्डुको बलिङमा साहबले दुई तथा जेरार्ड, सन्तोष यादव र करण केसीले समान एक विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमान्डुले ६ विकेट गुमाउँदै एक सय ३४ रनको योगफल बनायो।
सातौं नम्बरमा ब्याटिङ गर्न आएका मोहम्मद आदिल आलमले अविजित ४८ रनको महŒवपूर्ण योगदान दिए। यो नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो। उनले २५ बलमा चार चौका र दुई छक्का हिर्काए। शीर्ष क्रमका तीन ब्याटर सस्तैमा आउट भए। पहिलो ओभरमा ओपनर आकाश त्रिपाठी शून्यमै पभेलियन फर्किए। रिकार्डो भास्कोनसेलोस ३ रनमै रनआउट भए। लगत्तै प्रतीक श्रेष्ठ २ रनमै पभेलियन फर्किए। यससँगै ४.१ ओभरमा काठमान्डु १३÷३ को नाजुक अवस्थामा पुग्यो। काठमान्डुले चौथो विकेट पनि गुमायो। स्पिनर सूर्य तामाङले जेरार्ड इरासमसलाई १० रनमा आउट गरे। लगातार विकेटपछि दबाबमा परेको काठमान्डुले सुस्त ब्याटिङ गर्यो। अर्को छेउबाट ओपनर बेन चाल्र्सवर्थले इनिङ अगाडि बढाए।
उनी पनि १२औं ओभरमा ३२ रनमा आउट हुन पुगे। उनले ३३ बलमा एक चौका र दुई छक्का प्रहार गरे। यससँगै १२.५ ओभरमा ५६ रन जोड्दा पाँचौं विकेट गुमायो। तर, छैटौं विकेटका लागि आदिल र सन्तोष यादवबीच ४५ रनको साझेदारी बन्यो। यो नै सर्वाधिक ठूलो साझेदारी रह्यो। यसबीच आदिलले तीनपटक जीवनदान पाए। सन्तोषले २४ बलमा एक चौका प्रहार गरे। अन्तिम पाँच ओभरमा काठमान्डुले ५१ रन जोड्दै सम्मानजनक योगफल बनाएको हो। विराटनगरको बलिङमा प्रतीश जिसी र शुभम रन्जानेबाहेक सबैले अनुशासित बलिङ गरे। मार्चन्ट डे लाङ्गेले दुई तथा शुभम, सूर्य र सन्दीप लामिछानेले समान एक विकेट लिए।
पावर प्लेमा राम्रो गर्न नसक्दा हार्यौं– आदिल
काठमान्डु गोखार्जका मोहम्मद आदिल आलमले पावर प्लेमा राम्रो ब्याटिङ र बलिङ गर्न नसक्दा राम्रो नतिजा आउन नसकेको बताए। पावरप्लेमा राम्रो गर्न नसक्दा खेलमा लगातार हार बेहोर्नुपरेको उनको भनाई छ। उनले आफूमाथि व्यक्तिगत रूपमा दबाब रहेको स्विकारे। दुई हार सामना गरे पनि बाँकी चार खेल जित्दै प्लेअफमा पुग्न मिहेनत गर्ने उनको विश्वास छ। ब्याटिङसँगै बलिङमा पनि जिम्मेवारी आउँदा आफू तयार नै रहेको आदिलको भनाइ छ।
प्रकाशित: ७ मंसिर २०८२ ०६:३७ आइतबार





