२० मंसिर २०८२ शनिबार
image/svg+xml
खेल

एनपिएल: फिल्डिङ नसुध्रँदा कर्णालीको प्लेअफ लक्ष्य कठिन

खराब फिल्डिङ सुधार गर्न नसक्दा कर्णाली याक्सको जारी नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा पनि प्लेअफ पुग्ने लक्ष्य कमजोर भएको छ।

एनपिएलको पहिलो सिजनमा कर्णालीसँग समान ८ अंक भए पनि नेट रनरेटमा पछि पर्दा काठमान्डु गोर्खाज प्लेअफमा पुग्न असफल टोली हो। आइतबार कीर्तिपुरमा काठमान्डु र कर्णाली प्रतिस्पर्धामा उत्रँदा सबैको प्रतीक्षा नतिजामा थियो। तर, शीर्ष क्रम चल्न नसक्नु र खराब फिल्डिङ कारण कर्णालीले काठमान्डुलाई पाँच विकेटले नतिजा सुम्पिन पुग्यो।

 काठमान्डुले दोस्रो भेटमा पनि कर्णालीसँगको विजययात्रा जारी राख्यो। पहिलो सिजनमा पनि काठमान्डुले कर्णालीलाई तीन विकेटले हराएको थियो। भारतीय स्टार ब्याटर शिखर धवनको साथ पाएको कर्णालीले एक सय ४९ रनको लक्ष्य जोगाउन सकेको थिएन।  त्रिवि क्रिकेट मैदानमा दोस्रो सिजनमा पनि कर्णालीले यही आँकडाको लक्ष्य दियो। तर, त्यो जितका लागि पर्याप्त भएन। काठमान्डुले १८औं ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पूरा ग¥यो।

काठमान्डुको जितमा जोन सिम्पसन र जेरार्ड इरासमसले ८६ रनको महत्त्वपूर्ण साझेदारी गरे, जुन जितको आधार पनि बन्यो। यस सिजन पनि काठमान्डुले जेरार्डलाई भित्र्याएको थियो। तर, उनी लिगको अन्तिम खेल बाँकी छँदा नै घर फर्कदै छन्। त्यो पनि जितको नायक बनेर। उनी खेलको प्लेअर अफ दी म्याच पनि भए।

नेपाली भूमिमा खेल्न पाउँदा आफू धेरै खुसी रहेको उनले प्रतिक्रिया दिए। ‘एसोसिएट क्रिकेटले यो संरचना खेल्दै अगाडि बढ्नु सुखद पक्ष हो। नेपालमा छैटौं पटक आएँ। जहिल्यै पनि टियुमा क्रिकेट खेल्दै खुसी लाग्छ,’ एसोसिएट राष्ट्र नामिबियाका इरासमसले भने। जितपछि काठमान्डुले भने दोस्रो सिजनमा प्लेअफ सम्भावना बलियो बनाएको छ।

आफ्नो छैटौं खेलमा चौथो जित निकाल्दै काठमान्डु प्लेअफनजिक पुगेको छ। पाँचौं खेलमा चौथो हार बेहोरेको कर्णालीको प्लेअफ सम्भावना कठिन छ। कर्णालीले अब पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्ससँग खेल्नेछ। यी दुवै कर्णालीपछिका टोली हुन्। कर्णालीका गुलसन झाले प्लेअफ पुग्ने सम्भावनाबारे धेरै नसोच्ने र एकएक खेल जित्ने लक्ष्यसहित खेल्ने बताएका छन्।

 ‘प्लेअफ पुग्ने लक्ष्य लिएर दबाब लिएका छैनौं। हरेक एक खेल जित्ने गरी खेलेका छौं। अबका बाँकी दुई खेल पनि जित्ने प्रयास गर्छौं,’ उनले भने। उनले आजको खेल ब्याटिङ र खराब फिल्डिङका कारण गुमाउनुपरेको धारणा राखे। साथै छिटै विकेट जाँदा २० रन जति कम भएको उनको भनाइ थियो।

गत शनिबार नै सुदूरपश्चिम रोयल्स प्लेअफमा पुगिसकेको छ। अब तीन स्थानका लागि प्रतिस्पर्धा भइरहेको छ। काठमान्डुको ६ खेल र विराटनगरको पाँच खेलबाट समान ८ अंक छ। यी दुई टोली बलिया दाबेदार देखिएका छन्। समान चार खेल गुमाएका कर्णाली र जनकपुर बोल्ट्सबाहेक अन्यको सम्भावना राम्रो नै देखिन्छ।

प्लेअफ यात्रा जारी राख्न कर्णालीका लागि काठमान्डुविरुद्ध जित आवश्यक थियो। तर, सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली असफल भयो। काठमान्डुका मध्यक्रमका ब्याटर इरासमसले ४३ र सिम्पसनले ४१ रनको साझेदारी गर्दै जितको आधार तय गरे। इरासमसले ३३ बलमा समान दुई चौका र छक्का हिर्काए। सिम्पसनले २१ बलमा चार चौका र दुई छक्का प्रहार गरे।

नन्दनले १८औं ओभरमा सिम्पसनलाई आउट गर्दै साझेदारी तोडे। तर, काठमान्डु जितका लागि १ रन मात्र टाढा थियो। लगत्तै रासिद खान पहिलो बलमै आउट भए। तर, भीम सार्कीले दुई बलमा एक छक्कासहित ६ रन जोडे। काठमान्डुले सुरुदेखि आक्रामक ब्याटिङ गर्‍यो। पावरप्लेमा एक विकेट गुमाएको काठमान्डुले ४६ रन जोड्यो। ओपनर आकाश त्रिपाठी ८ रनमा आउट भए। तर, अर्का ओपनर बेन चाल्र्सवर्थले २१ बलमा ३४ रन जोड्दै आक्रामक ब्याटिङ गरे। उनको इनिङमा दुई चौका र तीन छक्का रह्यो। मिलिन्द कुमार १५ रनमा रनआउट भए। १०.१ ओभरमा जनकपुर ६३/३ को अवस्थामा थियो। तर, त्यसपछि सिम्पसन र इरासमसले आक्रामक ब्याटिङ गरे। कर्णालीको खराब फिल्डिङ दोहोरिँदा काठमान्डुका लागि थप सहज पनि बन्यो।

कर्णालीको बलिङमा नन्दनले तीन र पवन सर्राफले एक विकेट लिए। सात बलर प्रयोग भए पनि कर्णालीले लक्ष्य रक्षा गर्न सकेन। त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने कर्णालीको निर्णय सहज भएन। पहिलो ओभरमै दुई विकेट पतनसँगै कर्णालीको सुरुआत खराब रह्यो। तर, सातौं नम्बरका ब्याटर गुलसनको आक्रामक ब्याटिङमा कर्णालीले सात विकेटको क्षतिमा एक सय ४९ रनको मध्यम योगफल बनायो। २२ बलमा गुलसनले नटआउट ४९ रन जोड्दै इनिङ समाले। काठमान्डुका कप्तान करणले इनिङको पहिलो बलमै ओपनर प्रियान्क पन्चाललाई कट एन्ड बोल्ड गरे। छैटौं बलमा बोसिस्टोलाई १ रनमा रनआउट भए। दबाबमा परेको कर्णालीले पावरप्लेमा ३८ रन जोड्यो।

अर्का ओपनर मार्क वाटले तेस्रो विकेटका लागि पवन सर्राफसँग ५८ रनको साझेदारी गरे। तर, फेरि रनआउटका रूपमा कर्णालीले अर्को विकेट गुमायो। रन लिने क्रममा मार्क सुस्त दौडिए। अर्को इनिङबाट भीम सार्कीले उनलाई रनआउट गरे। यो विकेटसँगै कर्णाली दबाबमा पर्‍यो। १२औं ओभरमा पवन ३५ रन जोड्दै आउट भए। २९ बल खेलेका उनले समान दुई चौका र छक्का हिर्काए। त्यसपछि दुई ब्याटर सस्तैमा पभेलियन फर्किए। नजिबउल्लाह जादरान १२ र कप्तान सोमपाल ६ रनमै आउट भए। १४.२ ओभरमा कर्णाली ८८/६ को नाजुक अवस्थामा थियो। यद्यपि, सातौं विकेटका लागि गुलसन र दीपक दुम्रेबीच ५५ रनको महत्त्वपूर्ण साझेदारी बन्यो। यी दुईले २५ बलमै ५० रनको साझेदारी पूरा गरेका थिए।

विकेटकिपर दीपक १० रनमा आउट भए। १९औं ओभरमा कर्णाली १४३/७ को अवस्थामा थियो। डेथ ओभरमा करणले ६ रन मात्रै दिए। गुलसनले ६ चौका र तीन छक्का प्रहार गरे। ३ बल खेलेका नन्दनले १ रन मात्रै जोडे। काठमान्डुको बलिङमा रासिदले दुई तथा करण, मिलिन्द कुमार र सन्तोष यादवले समान एक विकेट लिए।

गुलसनले राम्रो क्रिकेट खेले पनि हरेक ओभरमा अवसरहरू सदुपयोग गर्न नसक्दा हार बेहोर्नु परेको बताएका हुन्। ब्याटमा बल आउने खालको पिच भए पनि त्यो अनुरूप ब्याटिङ गर्न नसकिएको उनको तर्क छ। विराटनगर किङ्ससँग हारको कल्पना नै नगरिएको खेल गुमाउनुपरेको उनी बताउँछन्। टी ट्वान्टी क्रिकेटमा त्यस्तो नतिजाहरू सामना गर्नुपर्ने उनको भनाइ छ।

पहिलो ओभरमा दुई विकेट गएपछि खेलमा पछि परेको उनको विश्लेषण छ। तर, त्यहाँबाट पुनरागमन गर्ने प्रयास गरेको गुलसन बताउँछन्। उनले ब्याटिङ र बलिङ खराब भए पनि फिल्डिङ उत्कृष्ट लेभेलको हुनुपर्ने औंल्याएका छन् तर आफूहरूले फिल्डिङमा निकै खराब गरेको उनी बताउँछन्। अबको खेलमा बलिङ, ब्याटिङ र फिल्डिङमा सुधार आवश्यक रहेको उनी बताउँछन्। सोमबार एनपिएलको रेस्ट डे रहेको छ।

प्रकाशित: १५ मंसिर २०८२ ०६:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App