नेपाल प्रिमियर लिग(एनपिएल)मा कर्णाली याक्स उपाधि होडबाट बाहिरिने पहिलो टिम बनेको छ। मंगलबार साँझको खेलमा पोखरा एभेन्जर्ससँग ३४ रनले पराजित हुँदै कर्णाली उपाधि होडबाट बाहिरिएको हो।
कर्णालीले हालसम्म ६ खेल खेलिसकेको छ। जसमा ५ खेल हार्दा उसको अंक तालिकामा जम्मा दुई अंक मात्रै छ। लिगमा एक टिमले सात खेल खेल्न पाउँछ। जसअनुसार कर्णालीले अब बाँकी एक खेलमा जनकपुर बोल्ट्सको सामना गर्नेछ।
तर त्यो खेल जितेकै सन्दर्भमा पनि उसको अंक तालिकामा ४ अंक मात्रै हुनेछ। जुन प्लेअफमा पुग्नका लागि पर्याप्त हुनेछैन। यसैले कर्णाली उपाधि होडबाट बाहिरिएको हो।
कर्णालीसँग जित निकालेको पोखरा एभेन्जर्सले भने प्लेअफमा पुग्ने सम्भावना जिवित राखेको छ। उसले हालसम्म पाँच खेल खेलेर दुईमा जित र तीन हार ब्यहोरेको छ। अंक तालिकामा उसको ४ अंक भएको छ। चार अंकसहित उ अंकतालिकाको चौथो स्थानमा पुगेको छ। उसले दुई खेल अझै खेल्न बाँकी छ। जहाँ सुखद् नतिजा निकाल्न सके उ प्लेअफमा पुग्नसक्ने सम्भावना छ।
विराटनगर र काठमाडौंलाई सहज, तर निर्धक्क भन्न सकिन्न
हालसम्मको नतिजा अनुसार पाँच खेलमा शतप्रतिशत नतिजा निकाल्दै अंक तालिकामा १० अंक जोडेर सुदूरपश्चिम रोयल्सले प्लेअफमा स्थान सुरक्षित बनाइसकेको छ। सँगै उसको नेट रनरेट पनि राम्रो छ। यदि बाँकी खेलमा फराकिलो हार नब्यहोर्दा पनि उसको कम्तीमा दोस्रो स्थान सुरक्षित हुन्छ। जसले उसको पहिलो क्वालिफायरमा पुग्ने सम्भावना बलियो छ।
यस्तै अंक तालिकाको दोस्रो स्थानमा रहेको काठमाडौं गोर्खाजको प्लेअफ यात्रा सहज देखिन्छ। उसले ६ खेल खेलेर ४ मा जित निकाल्दै ८ अंक जोडेको छ। उसले बाँकी एक खेल जितेमा ढुक्कले प्लेअफमा पुग्छ भने, हारेमा भने नेटरनरेटको भर पर्नुपर्ने अवस्था आउनसक्छ।
चौथो स्थानमा विराटनगर किंग्स छ। उसले काठमाडौंभन्दा एक खेल कम(५ खेल) खेल्दै एकमा मात्रै हार ब्यहोरेर ८ अंक जोडेको छ। नेट उसको नेट रनरेट काठमाडौंभन्दा थोरैले कम छ। उसका लागि पनि प्लेअफ यात्रा तुलनात्मक रूपमा सहज छ। दुई खेलमा एक खेल मात्रै जिते पनि उ सहजै प्लेअफ पुग्नेछ। तर दुवै खेल हार्दा भने स्थिति नेट रनरेटको भर पर्नुपर्ने पनि हुनसक्छ।
अंक तालिकामा ८ अंक पुग्नसक्ने पोखरा, चितवन राइनोज र लुम्बिनी लायन्स पनि छन्। उनीहरू समान ५ खेल खेलेर दुईमा जित सहित चार अंकसहित अंक तालिकामा क्रमशः छन्।
यस्तै पाँच खेलमा आज मात्रै एक जित निकालेको साविक विजेता जनकपुर बोल्ट्स पनि पूर्ण रूपमा प्लेअफको दौडबाट बाहिरिइसकेको छैन। उसले खेल्न बाँकी दुई खेलमा शतप्रतिशत नतिजा निकालेर हाल अंकतालिकामा चार अंकमा रहेका कुनै पनि टोली आठ अंकसम्म नपुगेको अवस्थामा चौथो स्थानका लागि ६ अंकसहित जनकपुर पनि दाबेदार बन्नसक्ने झिनो गणितीय सम्भावना रहन्छ।
सोही सम्भावनाबारे आज जितपछि जनकपुरका खेलाडी अनिल साहले आफ्नो आशा जिवित रहेको बताएका थिए।
प्रकाशित: १६ मंसिर २०८२ २०:५२ मंगलबार





