२७ मंसिर २०८२ शनिबार
image/svg+xml
राजनीति

एमाले महाधिवेशन : अध्यक्ष ओलीले मध्याह्न १२ बजे उद्घाटन गर्ने

नेकपा एमालेको ऐतिहासिक ११ औं राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ। मध्याह्न १२ बजे भक्तपुरको सल्लाघारीमा अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रमको उद्घाटन गर्ने छन्।

पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका मध्याह्न १२ बजे अध्यक्ष ओलीले भक्तपुरको सल्लाघारीमा आयोजना गरिने उद्घाटन सभालाई सम्बोधन गर्ने छन्। उद्घाटन सभामा तीन लाख जनताको सहभागिता हुने एमालेले जनाएको छ। ‘ऐतिहासिक ११ औं महाधिवेशनलाई भव्य बनाउनका लागि देशैभरिबट ठूलो संख्यामा कार्यकर्ताहरू उपस्थित हुने क्रम जारी छ,’ गौतमले भने, ‘बागमती, मधेस र गण्डकी प्रदेशका प्रत्येक वडाबाट कार्यकर्ता आउँछन्। अन्य प्रदेशबाट ठूलो संख्यामा कार्यकर्ताहरू आउँछन्।’

कार्यक्रमको उद्घाटन अध्यक्ष ओलीले प्रविधिको प्रयोगबाट विशेष तरिकाले गर्ने गौतमले बताए। उद्घाटनको त्यो विशेष तरिका एमालेले सार्वजनिक गरेको छैन। उद्घाटन सम्बोधनमा अध्यक्ष ओलीले हालको विषम राजनीतिक परिस्थिति र यसको निकासका बारेमा एमाले कार्यकर्ता र आम जनतालाई स्पष्ट पार्ने गौतमले बताए। कार्यक्रममा काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा प्रचलनमा भएका झाँकीहरू प्रस्तुत गर्ने तयारी छ। उद्घाटन सत्रमा नेपाली कांग्रेस लगायत १६ वटा दललाई अतिथिको रूपमा निमन्त्रणा गरिएको गौतमले जानकारी दिए।  

उद्घाटन सत्रमा सहभागी हुन आउनेहरूलाई विभिन्न रुटहरू तयारी गरिएको छ। कार्यक्रम स्थलभन्दा पश्चिमतिरबाट आउनेले गठ्ठाघरसम्म मात्र सवारी साधान लैजान पाउने छन्। ति सवारी साधनहरू सानोठिमिस्थित खुला चौरमा पार्किङको व्यवस्था गरिएको छ। यसैगरी पूर्वबाट आउने सवारी साधानहरू जगातीमा पार्किङ गरिने छ। गठ्ठाघर र जगातीबाट सहभागीहरू जुलुससहित कार्यक्रम स्थलतर्फ आउने छन्। नगरकोट क्षेत्रबाट आउनेहरूलाई सल्लाघारीको उत्तरतिरको क्षेत्रमा पार्किङ गर्न भनिएको छ। भक्तपुरका सबै वडाबाट जुलुससहित सहभागीहरू कार्यक्रम स्थलतर्फ आउने छन्।  

महाधिवेशनमा २२ सय ६२ जना प्रतिनिधि निर्वाचित भएका छन्। उद्घाटन सत्र सकिएपछि भोलि बिहानदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्द सत्र सुरु हुने एमालेले जनाएको छ। एमालेको १० औं महाधिवेशन चितवनको सौराहामा २०७८ सालमा भएको थियो।

प्रकाशित: २७ मंसिर २०८२ ०७:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App