संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसिसी पुरुष यु–१९ एसिया कपमा आज नेपालले श्रीलंकासँग खेल्दैछ। उक्त खेल द सेभेन्स रंगशाला, दुबईमा बिहान १०:४५ बजे सुरु हुनेछ। नेपाल सुखद सुरुआत गर्ने लक्ष्यमा छ।
नेपालले दोस्रो खेल मंसिर २९ गते बंगलादेशसँग र तेस्रो खेल पुस २ गते अफगानिस्तानसँग खेल्ने छ। यही मंसिर २६ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी छन्।
समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र मलेसिया तथा समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, अफगानिस्तान र नेपाल रहेका छन्। दुवै समूहबाट शीर्ष दुईमा रहने टोलीले सेमिफाइनल खेल्नेछन्। उपाधि भीडन्त पुस ६ गते हुनेछ।
प्रकाशित: २७ मंसिर २०८२ ०८:१८ शनिबार





