नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई १३१ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३० रन बनायो।
जनकपुरको सुरुवात भने निराशाजनक रह्यो। ४६ रन जोड्दा महत्वपूर्ण ४ विकेट गुमाइसकेको जनकपुरका लागि ओपनर आसिफ शेखले एकातर्फबाट उत्कृष्ट ब्याटिङ गर्दै इनिङ्स सम्हाले। उनले ४१ बलमा ६ चौका र १ छक्काको मद्दतले ५४ रनको महत्वपूर्ण अर्धशतकीय पारी खेले।
मध्यक्रममा अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न नसके पनि अन्तिम ओभरतिर मयन यादव र लाहिरु समरकूनले उत्कृष्ट साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्याए।
मयनले अविजित रहँदै २९ बलमा २ चौका र १ छक्कासहित ३४ रन बनाए भने समरकूनले २१ बलमा २ छक्कासहित २२ रनको योगदान दिए।
काठमाडौंका लागि बलिङमा भारतीय खेलाडी मिलिन्द कुमारले सानदार प्रदर्शन गरे। उनले आफ्नो ४ ओभरको स्पेलमा १५ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए। त्यस्तै, कप्तान करण केसी, शाहब आलम र सन्तोष यादवले समान एक-एक विकेट लिए।
अब काठमाडौं गोर्खाजले उपाधि यात्राको सुखद सुरुवात गर्न १३१ रनको लक्ष्य केही बेरमा पछ्याउनेछ।
प्रकाशित: १ मंसिर २०८२ १७:३२ सोमबार





