२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

जय ट्रफी मेन्स इलाइट कप: पुलिसले बनायो एपिएफमाथि दबाब

स्पिनरद्वय ललित राजवंशी र सागर ढकाल चम्किएपछि सोमबार नेपाल पुलिस क्लबले जय ट्रफी मेन्स इलाइट कपको दोस्रो खेलमा एपिएफमाथि दबाब बनाएको छ।

कुल चार टोलीले प्रतिस्पर्धा गर्ने जय ट्रफीमा पुलिसले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग हार बेहोरेको थियो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा स्पिनर चम्किएपछि पुलिसले एपिएफमाथि दबाब बनाएको हो। यद्यपि, पहिलो दिनको खेल सकिँदा पुलिस ६ रनले पछि छ।

अर्को खेलमा आशुतोष घिरैया र ईशान पाण्डेको अर्धशतकमा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई चुनौती दिएको छ। जितबाट दोस्रो संस्करणको सुरुआत गरेको आर्मीले बागमतीविरुद्ध भने उत्कृष्ट बलिङ प्रदर्शन गर्न सकेन। पहिलो दिनको खेल सकिँदा आर्मी ६८ रनले पछाडि छ।

आशुतोष र ईशानले अर्धशतक बनाएपछि बागमतीले २६९ रनमा सात विकेट गुमाउँदै इनिङ समाप्तिको घोषणा गर्‍यो। यस खेलमा बागमतीको कप्तानी सन्दीप लामिछानेले गरेका छन्। उनले अघिल्लो खेल भने खेलेका थिएनन्।

आर्मीले पहिलो इनिङमा तीन विकेट गुमाउँदै १९३ रन बनाएको छ। सन्तोष कार्की ४३ रन र बसेर अहमद पाँच रन बनाएर क्रिजमा छन्। भीम सार्कीले दोस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शन गरे। उनले पहिलो खेलमा शतक प्रहार गरेका थिए। बागमतीविरुद्ध पनि भीमले ७४ रनको इनिङ बनाए।

उनले ८३ बलमा छ चौका र दुई छक्का प्रहार गरे। त्यसअघि ओपनर तृतराजले दासले ३८ रनको योगदान दिए। यिनको इनिङमा तीन चौका र दुई छक्का रह्यो। बागमतीको बलिङमा सन्दीप लामिछाने, रिजन ढकाल र विपिन आचार्यले समान एक विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमतीले २५९ रनमा इनिङ समाप्तिको घोषणा गरेको थियो।

आशुतोषले ७७ रन र ईशानले ६९ रन बनाएपछि बागमतीको इनिङ बलियो बन्यो। मध्यक्रमका ब्याटर विवेक मगरले ३१ रन जोड्दै साथ दिए।

आर्मीको बलिङमा साहब आलमले तीन तथा नरेन साउदले दुई, कुशल मल्ल र बसिर अहमदले समान एक विकेट निकाले। अर्को खेलमा पुलिसका ललित र सागरले समान चार विकेट लिएपछि एपिएफ १८५ रनमा नै अलआउट भयो। अर्का स्पिनर कुशल भुर्तेलले दुई विकेट लिए। पुलिस १७९/५ को अवस्थामा छ। विकेटकिपर दिलसाद अलीले ५८ रनको अर्धशतकीय इनिङ बनाए। अमित श्रेष्ठले ४१ रन जोड्दा शंकर राना ४८ रनमा नटआउट छन्। ओपनर कुशल भुर्तेलले २२ रनको योगदान दिए।

पुलिसको तीन विकेट इर्साद अहमद, अभिशेष गौतम र युवराज खत्रीले लिए। टस जितेर नेपाल पुलिस क्लबले एपिएफलाई ब्याटिङको निम्तो दिएको थियो। एपिएफ ६३.४ ओभरमा १८५ रनमा समेटियो। सुरुआत मध्यम रह्यो। आसिफ शेख १२ रनमा आउट भए। दीपक बोहोरा २८ रन बनाएर पभेलियन फर्किए। कप्तान रोहित पौडेलले आक्रामक ब्याटिङ गर्दै ४८ बलमा ४५ रन जोडे। उनको इनिङमा ९ चौका रह्यो। सन्दीप जोरा १० रनमा आउट भए र एपिएफ दबाबमा पर्‍यो।

त्यसपछि सुमित महर्जनले १०० बलमा ५५ रन बनाए। उनले पाँच चौका र तीन छक्का प्रहार गरे तर अन्य ब्याटरले लामो साथ दिन सकेनन्। भुवन कार्की ४, लोकेश बम ४, अमर रौटेला ८, अभिषेश गौतम शून्य र युवराज खत्री १६ रनमा आउट भए। इर्शाद अहमद शून्य रनमा अविजित रहे।

प्रकाशित: १२ फाल्गुन २०८२ ०७:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App