आर्ने स्लटले नयाँ अनुबन्धित एलेक्जान्डर इसाक सम्भवतः विश्वकै उत्कृष्ट स्ट्राइकर बन्न सक्ने प्रशंसा गर्दै रोकिएको प्रिसिजनमा बिस्तारै उनलाई लयमा ल्याउने बताएका छन्।
प्रिमियर लिग च्याम्पियन लिभरपुलले इसाकलाई न्युक्यासलबाट एक सय २५ मिलियन पाउन्डमा भित्र्याएको र उनको आगमनले टोली थप बलियो बन्ने विश्वास गरिएको छ। लामो समयदेखिको अध्ययनपछि लिभरपुलमा इसाकको आगमन समर सिजनमा सम्भव भएको हो।
यो ट्रान्सफर विन्डोमा क्लबले करिब चार मिलियन पाउन्डभन्दा बढी खर्चिएको छ। क्रिस्टल प्यालेस र इङ्ल्यान्डका डिफेन्डर मार्क गुहीलाई अन्तिम मितिमा साइन गर्ने लिभरपुलको प्रयास असफल भएको छ। ‘अन्तिम मितिमा धेरै कुराहरू भयो, जुन सधैं यस्तो हुँदैन। गत सिजन हामीले केही पनि गरेका थिएनौं,’ स्लटले भने,‘तर मलाई सबैभन्दा बढी खुसी लागेको इसाकलाई सम्झौता गर्न सफल भयौं।’
डच प्रशिक्षक स्लटले अन्तर्राष्ट्रिय ब्रेकमा इसाकको कार्यभारलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे स्विडेनका प्रशिक्षक जोन डाहल टोमासनले राम्रो भूमिका खेलेको भन्दै प्रशंसा गरेका छन्। स्विडेनका २५ वर्षे खेलाडी स्टार इसाकले यस सिजन क्लब फुटबल खेलेका छैनन्। विश्वकप छनोटमा स्विडेनले स्लोभेनियासँग २–२ को बराबरी खेल्दा उनी बेन्चमा थिए। कोसोभोसँग पनि स्विडेन २–० ले स्तब्ध हुँदा उनलाई ढिलो गरी मैदानमा ल्याइएको थियो। ‘इसाक विश्वकै सर्वोत्कृष्ट हुन्। सम्भवतः हामीले सर्वश्रेष्ठ स्ट्राइकर पाएका छौं। उनको देशका लागि दुईवटा खेल धेरै महत्त्वपूर्ण थिए। ती खेल उनले खेल्न आवश्यक थियो। तर, टोमासन बुझेका प्रशिक्षक हुन्। यदि दुई पटक ९० मिनेट खेलाउँदा इसाक सम्भवतः घाइते हुने थिए, त्यो कुरा प्रशिक्षकले बुझे,’ स्लटले भने।
एउटा प्रशिक्षकका लागि खेलाडीको हितमा हुने गरी हेरचाह गर्नु त्यति सहज नरहेको पनि स्लटको बुझाइ छ। ‘प्रशिक्षकका लागि खेलाडीको बारेमा त्यसरी सोच्न सधैं सजिलो हुँदैन। तर, उनले खेलाडीको हित र हेरचाह गरे। त्यसैले उनी (टोमासन) ठूलो प्रशंसाका पात्र छन्। हामीले पनि इसाकसँग यस्तै व्यवहार गर्नेछौं,’ स्लटले भने, ‘हरेक खेलमा ९० मिनेट उनी मैदानमा रहने अपेक्षा नगर्नुहोस्। आउने दिनमा यो निश्चित रूपमा हुँदैन।’ स्लटले प्रिसिजनमा पनि इसाकले ३/५ महिना गुमाएको उल्लेख गरे।
‘उनले उचित प्रिसिजन गुमाएका छन्। मलाई लाग्छ उनले टिम सेसनको तीन वा चार महिना गुमाएका छन्। त्यसैले अब हामीले उनलाई बिस्तारै लयमा फर्काउनुपर्नेछ। धेरै खेल खेल्दैछौं र अभ्यासका समय कम छन्,’ प्रशिक्षक स्लटले भने।
इसाकको आलोचना
लिभरपुलले इङ्लिस प्रिमियर लिगमा आइतबार बर्नलीविरुद्ध खेल्दै छ। न्युक्यासल छाड्ने इसाकको आग्रहपछि उनीमाथि भएको आलोचनाबारे बोल्न स्लटले अस्वीकार गरे। किनकि न्युक्यासलमा इसाकको अनुबन्ध अझै तीन वर्ष बाँकी थियो। ‘कहिलेकाहीँ मानिसहरू तपाईंको लागि खुसी मनाउँछन्। त्यसैले मलाई लाग्छ उनले लिग कपको उपाधि (गत सिजन) जितेपछि सबै उनीप्रति साँच्चिकै खुसी थिए,’ उनले भने,‘त्यही खेलाडी बाहिर जान लाग्दा आलोचना गरिन्छ। यो उनको र मेरै जीवनमा हुने कुरा हो। अब उनी हाम्रा खेलाडी हुन् र म यसमा साँच्चिकै खुसी छु,’ स्लटले भने। उनको क्लब लिभरपुलले यस सिजन प्रिमियर लिगमा तीनवटा खेल जितेको छ।
गुहीलाई अनुबन्धित गर्न लागेको बारे उनले स्वीकार गरेका छन्। तर, भविष्यमा उनलाई भित्र्याउन सकिनेबारे भने स्लटले बताउन चाहेनन्। ‘गुहीलाई अनुबन्धित गर्ने अवस्थानजिक थियौं भन्न सक्दिनँ,’ उनले भने, ‘त्यसले यसबारे धेरै भन्न चाहन्नँ।’ उनी लिभर पुललाई २१औं पल्ट प्रिमियर लिगको उपाधि दिलाउने लक्ष्यमा छन्।
उपाधि जित्ने लक्ष्यमा उनीसँग रक्षापंक्तिमा धेरै विकल्पहरू हुने स्लट बताउँछन्। गुहीलाई सम्झौता गर्न नसकिएको बारे पनि स्लटले सहज रूपमा लिए। ‘यी कुराहरू फुटबलमा हुन्छन्। खेलाडीहरूसँग पनि विगतमा यो भएको हुनुपर्छ। उनीहरू अरू कतै साइन गर्न धेरै नजिक थिए होलान्। त्यसपछि अन्तिम क्षणमा कुरा परिवर्तन भएको थियो होला,’ स्लटले भने। उनले गुही धेरै राम्रो खेलाडी रहेको र प्यालेसमा जमेको उल्लेख गरे। ‘क्रिस्टल प्यालेसमा उनी राम्रो स्थितिमा छन्। जहाँ उनले कम्युनिटी सिल्ड र एफए कप जितेका थिए। साथै उनीसँग धेरै राम्रा प्रशिक्षक पनि छन्। त्यसैले भविष्यमा उनले थप राम्रो गर्न सक्छन्,’ उनले भनेका छन्।
प्रकाशित: २८ भाद्र २०८२ ०८:०१ शनिबार




-600x400.jpg)
