इरानको राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अली करिमीसँग सम्बन्धित भनिएका ६ वटा सम्पत्ति इरानी न्यायपालिकाले जफत गरेको छ।
निर्वासनमा जीवन बिताइरहेका करिमी इस्लामिक गणतन्त्र इरानका कट्टर आलोचकका रूपमा परिचित छन्। इरानी न्यायपालिकाले देश द्रोह गर्ने व्यक्तिहरूलाई लगातार चेतावनी दिँदै आइरहेको थियो। देशविरुद्ध भएका प्रदर्शन तथा इजरायल र अमेरिकासँगको तनावपूर्ण युद्धको पृष्ठभूमिमा उनीहरूले साथ दिएको आरोप पनि लागिरहेको छ।
इरानी न्यायलयले राष्ट्रिय सुरक्षाविरुद्ध गतिविधि गर्ने व्यक्तिमाथि सम्पत्ति जफत गर्ने चेतावनी बारम्बार दिँदै आएको छ। अन्तत् राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानमाथि नै कारबाही भएको छ। फुटबलको खेलजीवनमा उनले जर्मन क्लब बायर्न म्युनिखबाट समेत खेलेका सकेका छन्।
मैदानमा देखाएको उत्कृष्ट कौशलका कारण करिमीले एसियन म्याराडोनाको उपमा पनि पाउने गर्दथे। तर, देशमा भने उनी देशद्रोहको आरोप सामना गर्न बाध्य भए। सामाजिक सञ्जालमार्फत करिमीले धार्मिक शासनविरुद्ध भएका प्रदर्शनको समर्थन गर्दै आएका छन्। साथै सन् १९७९ को इस्लामिक क्रान्तिपछि हटाइएको राजतन्त्रप्रति पनि उनले समर्थन जनाएका थिए। इरानी समाचार एजेन्सी मिजानले करिमीलाई हालका वर्षहरूमा शत्रुको समर्थनमा व्यापक गतिविधि गर्ने व्यक्तिको रूपमा चित्रित गर्दै आएको छ। मातृभूमिप्रति गद्दारी गर्ने व्यक्तिमध्ये एक भनेर करिमीको वर्णन हुँदै आएको छ। एजेन्सीका अनुसार करिमीका दुई व्यावसायिक भवन र चार आवासीय सम्पत्ति पहिचान गरी न्यायिक आदेशमार्फत जनताको हितका लागि जफत गरिएको हो।
सन् २०२२ मा इरान छाडेका करिमी हाल खाडी क्षेत्रमा बसोबास गरिरहेको विश्वास गरिएको छ। तर, न्यायपालिकाको उक्त निर्णयबारे उनले हालसम्म सार्वजनिक प्रतिक्रिया दिएका छैनन्। सन् २०२२ मा महिला पोसाकसम्बन्धी कडा नियम उल्लंघन गरेको आरोपमा पक्राउ परेकी महसा अमिनीको हिरासतमा मृत्यु भएपछि इरानभर व्यापक प्रदर्शन भएको थियो। ती प्रदर्शनलाई समर्थन गरेको आरोपमा इरानी अधिकारीहरूले करिमीमाथि अनुपस्थितिमै मुद्दा दायर गरेका थिए। अप्रिलमा इरानी न्यायपालिकाले महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान जहरा घनबरीको जफत गरिएको सम्पत्ति फुकुवा गरिएको जनाएको थियो। उनले अस्ट्रेलियामा शरण मागेपछि सम्पत्ति नियन्त्रणमा लिइएको हो।
तर पछि उनले आफ्नो शरण आवेदन फिर्ता लिएकी थिइन्। घनबरी मार्चमा अस्ट्रेलियामा शरण माग्ने ६ खेलाडी र एक सहयोगी सदस्यको समूहमा थिइन्। पछि घनबरीसहित पाँच जनाले आफ्नो निर्णय परिवर्तन गर्दै स्वदेश फर्किएका थिए। इरानी पुरुष राष्ट्रिय फुटबल टोली आगामी जुनमा अमेरिकामा हुने फिफा विश्वकप खेल्न जाने तयारीमा छ। इजरायल र अमेरिकासँगको युद्ध तथा राजनीतिक तनावका कारण उक्त भ्रमण उच्च निगरानी र अन्तर्राष्ट्रिय चासोको विषय बनेको छ। एएफपी
प्रकाशित: २९ वैशाख २०८३ ०७:०० मंगलबार





