२ चैत्र २०८२ सोमबार
image/svg+xml
खेल

गाईघाटमा अन्तर्राष्ट्रिय स्तरको महिला फुटबल च्याम्पियनसिप हुँदै

उदयपुर सदरमुकाम गाईघाटमा अन्तर्राष्ट्रिय स्तरको महिला फुटबल च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा आउँदो फागुन १ गतेदेखि प्रतियोगिता हुन लागेको हो। 

एन्फा महासचिव किरण राईले बिहीबार पत्रकार सम्मेलन गर्दै ‘एन्फा महिला फुटबल च्याम्पियनसिप  प्रतियोगिता’बारे जानकारी गराए। प्रतियोगिता आयोजनास्थल गाईघाटस्थित थरुहट उदयपुर रंगशालामै महासचिव राईले पत्रकार सम्मेलन गर्दै नेपालमै पहिलो पटक आयोजना हुन लागेको यो प्रतियोगिता उदयपुरमा गर्न लागेको बताए।

पत्रकार सम्मेलनमा महासचिव राईले यो प्रतियोगिता अन्तर्राष्ट्रिय फुटबल महासंघको चाहनाअनुरुप पहिलो पटक नेपालमा हुन लागेको जानकारी दिए। विगत केही समययता नेपाली महिला फुटबल खेलाडीहरूले एकपछि अर्को सफलता प्राप्त गर्दै गएका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा निकै ठुलो प्रभाव परेको बताए। ‘एकपछि अर्को महिला खेलाडी टिमको सफलताकै उपलब्धि स्वरूप यो अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता हुन लागेको हो’ महासचिव राईले भने ‘यसले नेपाली महिला खेलाडीहरूको प्रगतिमा थप मद्दत गर्ने अपेक्षा लिइएको छ।’

महासचिव राईले नेपाली महिला टोलीले अहिलेको भन्दा बढी प्रगति गर्ने र अन्तर्राष्ट्रिय रूपमा नेपालको फुटबल खेलको महत्त्व बढाउने गरी एन्फाले प्रतियोगिता गर्न लागेको बताए। नेपालमा महिला खेलाडीहरू एकपछि अर्को उदाउँदै गरेको बताउँदै समग्र महिला फुटबलको भविष्य उज्ज्वल रहेको उनको भनाइ थियो। 

प्रतियोगितामा घरेलु टिम गाईघाट महिला टोलीसहित विभिन्न विभागीय टिमसहित १० टिमको सहभागिता रहनेछ। जस अनुसार न्युरोड काठमाडौ, एफसी रिएल, नेपाल पुलिस, एपिएफ फुटबल क्लब, आरएस रिसोर्छ, त्रिभुवन आर्मी, चर्च ब्वाइज युनाइटेड, छहारी वाइसी र संकटा क्लब काठमाडौ प्रतियोगितामा सहभागी हुनेछन्। उद्घाटन खेलमा गाईघाट र न्युरोड टिम काठमाडौबिच प्रतिस्पर्धा हुने खेल तालिका रहेको छ। 

एन्फा उदयपुरका अध्यक्ष रञ्जन कार्कीका अनुसार गाईघाटमा यस्तो अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना हुन लागेकोमा समग्र उदयपुरे खेलाडी र खेलप्रमी खुसी भएका छन्। प्रतियोगितामा चर्चित खेलाडीहरू प्रीति राई र साम्बाबाहेक अन्य सबै राष्ट्रिय महिला फुटबल खेलाडीहरू उदयपुर आउने सुनाए। 

जिल्लामा पहिलो पटक हुन लागेको महिला च्याम्पियनसिपमा सहभागी हुन देशभरका चर्चित टिमहरू तथा राम्रा खेलाडीहरू आउने कुराले सबैलाई खुसी बनाएको कार्कीले बताए। विभागीय टिमका खेलाडीहरूको सहभागिता हुने भएकाले प्रतियोगिता आकर्षक र रोचक हुने पनि उनले बताए। 

प्रतियोगिता विजेता टोलीले ७ लाख ५० हजार नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र पाउनेछ। उपविजेतालाई ५ लाख नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गर्ने एन्फाले जनाएको छ।

प्रकाशित: २३ माघ २०८२ १३:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App