टी-२० विश्वकप २०२६ अन्तर्गत वानखेडे स्टेडियममा जारी खेलमा घरेलु टोली भारत पावर प्लेमै सङ्कटमा परेको छ।
अमेरिकाविरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको भारतले ६ ओभरको समाप्तिमा ४ महत्वपूर्ण विकेट गुमाएर ४६ रन मात्र जोड्न सकेको छ।
अमेरिकाका बलरहरूले सुरुवाती ओभरदेखि नै दबाब सिर्जना गरेका थिए। विशेषगरी अमेरिकाका बलर स्याड्ली भान स्काल्कविकले घातक बलिङ गर्दै भारतको मध्यक्रम ध्वस्त पारेका छन्।
उनले आफ्नो २ ओभरमा केवल १० रन खर्चेर ३ विकेट लिए।
भारतको सुरुवात निकै खराब रह्यो। अली खानले १.२ ओभरमा अभिषेक शर्मालाई बोल्ड गर्दै पहिलो सफलता दिलाएका थिए।
त्यसपछि इशान किशन र तिलक वर्माले आक्रामक ब्याटिङ गर्दै इनिङ उकास्ने प्रयास गरेका थिए। तिलक वर्माले १६ बलमा ३ चौका र १ छक्कासहित २५ रन बनाए भने इशान किशनले १६ बलमा २० रन जोडे।
तर, छैटौं ओभर भारतका लागि दुर्भाग्यपूर्ण साबित भयो। भान स्काल्कविकले ५.२ ओभरमा इशान किशनलाई क्याच आउट गराए।
लगत्तै ५.५ ओभरमा राम्रो खेलिरहेका तिलक वर्मा पनि क्याच आउट भए भने ५.६ ओभरमा शिवम दुबेलाई पनि उनले पेभेलियनको बाटो देखाए।
एकै ओभरमा ३ विकेट गुमेपछि वानखेडेको घरेलु दर्शक स्तब्ध बनेका छन्। अहिले क्रिजमा कप्तान सूर्यकुमार यादव १ रन बनाएर खेलिरहेका छन्।
प्रकाशित: २४ माघ २०८२ १९:५६ शनिबार





