२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

टी–२० विश्वकप: इंग्ल्याण्ड ७ रनले स्तब्ध, भारत फाइनलमा

घरेलु टोली भारत आइसीसी टी-२० विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ।

मुम्बईको वानखेडे स्टेडियममा बिहीबार राति भएको ५ सय रनको थ्रिलर म्याचमा साविक विजेता इंग्ल्याण्डलाई ७ रनले पराजित गर्दै भारतले उपाधि भिडन्त पक्का गरेको हो।

जितका लागि २५४ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २४६ रन मात्र बनाउन सक्यो। अन्तिम ओभरसम्म चलेको तनावपूर्ण खेलमा दुवै टोलीका ब्याटरहरूले चौका र छक्काको वर्षा गरेका थिए।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले सञ्जु सामसनको आक्रामक ब्याटिङको मद्दतमा २५३ रनको पहाडजस्तो योगफल खडा गरेको थियो। ओपनर अभिषेक शर्मा सस्तैमा आउट भए पनि सामसनले इनिङ सम्हाले।

सामसनले मात्र ४२ बलको सामना गर्दै ८ चौका र ७ छक्कासहित सर्वाधिक ८९ रनको इनिङ खेले। मध्यक्रममा शिवम दुबेले २५ बलमा ४३ रन र ईशान किशनले १८ बलमा ३९ रनको योगदान दिए।

इनिङको अन्त्यतिर हार्दिक पाण्ड्याले १२ बलमा २७ रन तथा तिलक वर्माले ७ बलमा २१ रन जोड्दै टोलीको स्कोर २५० कटायो। इंग्ल्याण्डका लागि विल ज्याक्स र आदिल रशिदले समान २–२ विकेट लिए।

२५४ रनको विजय लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डका लागि युवा ब्याटर ज्याकोब बेथेलले अविश्वसनीय इनिङ खेले। बेथेलले मात्र ४८ बलमा ८ चौका र ७ छक्का प्रहार गर्दै १०५ रनको शतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन्।

इंग्ल्याण्डका ओपनर फिल साल्ट (५) र कप्तान ह्यारी ब्रुक (७) सस्तैमा आउट हुँदा टोली दबाबमा आएको थियो। तर, बेथेल र विल ज्याक्स (३५ रन) ले टोलीलाई खेलमा फर्काउने प्रयास गरे। अन्तिम समयमा जोफ्रा आर्चरले ४ बलमा ३ छक्कासहित १९ रन जोड्दै खेललाई रोमाञ्चक मोडमा पुर्‍याए पनि जितका लागि ७ रन अपुग भयो।

रनको वर्षा भएको खेलमा भारतीय बलरहरू निकै महँगा साबित भए। वरुण चक्रवर्तीले ४ ओभरमा ६४ रन खर्चिए भने अर्शदीप सिंहले ५१ रन दिए।

तर, अलराउन्डर हार्दिक पाण्ड्याले ४ ओभरमा ३८ रन खर्चेर महत्त्वपूर्ण २ विकेट लिँदै खेललाई भारतको पक्षमा मोड्न भूमिका खेले। अक्षर पटेल र जसप्रीत बुमराहले पनि १–१ विकेट हात पारे।

यो जितसँगै भारतले घरेलु मैदानमा विश्वकपको उपाधि जित्ने सुनौलो अवसर प्राप्त गरेको छ। प्रतियोगिताको फाइनल खेल अब उपाधिका लागि हुनेछ।

प्रकाशित: २१ फाल्गुन २०८२ २३:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App