आईसीसी महिला विश्वकपमा आज भारत र पाकिस्तान आमनेसामने हुँदै छन्।
आइतबार श्रीलंकाको आर प्रेमादासा रंगशालामा खेल हुँदै छ। नेपाली समय अनुसार खेल दिउँसो ३:१५ बजेदेखि सुरु हुने छ। महिला विश्वकपको उद्घाटन खेलमा श्रीलंकालाई डिएलस प्रणालीमा ५९ रनले पराजित गर्दै भारतले विजयी सुरुआत गरेको थियो।
त्यस्तै, पाकिस्तान भने आफ्नो पहिलो खेलमा बांगलादेशसँग ७ विकेटले पराजित भएको थियो। यस अर्थमा आज दुवै टोलीले दोस्रो खेल खेल्दै छन्। भारत पाकिस्तानलाई हराउँदै लगातार दोस्रो जितको लक्ष्यमा मैदान उत्रिने छ भने पाकिस्तान भारतलाई हराउँदै आफ्नो पहिलो जित दर्ता गर्न लक्ष्यमा हुने छ।
यी टोलीहरू अन्तिम पटक दुबईमा २०२४ को आईसीसी महिला टी-२० विश्वकपमा भेटेका थिए, जहाँ भारतले ६ विकेटले जित हासिल गरेको थियो।
महिला विश्वकपमा आजको खेल निकै रोचक हुने अनुमान गरिएको छ। त्यस्तै, समर्थकहरू भारत र पाकिस्तानका खेलाडीले एकअर्कासँग हात मिलाउने वा नमिलाउने बारेमा चासो राख्न थालेका छन्।
केही दिनअघि सम्पन्न पुरुष एसिया कपमा भारत र पाकिस्तानका खेलाडीहरूबीच निकै विवाद भएको थियो। हात नमिलाउनेदेखि खेलाडीबीच आरोप–प्रत्यारोपको कारण भारत र पाकिस्तानको खेल निकै विवादमा परेको थियो।
प्रकाशित: १९ आश्विन २०८२ १३:५२ आइतबार





