६ असार २०८३ शनिबार
image/svg+xml
खेल

समूह ‘सी’: ब्राजिललाई हाइटीले चुनौती दिन सक्ला?

स्कटल्यान्ड र मोरक्को शीर्ष स्थानको दौडमा

शनिबारका खेलहरूले समूह ‘सी’ को नकआउट चरण पुग्ने दौडलाई नाटकीय रूपमा आकार दिन सक्छन्। पाँचपटकको च्याम्पियन ब्राजिलले नेपाली समयअनुसार बिहान ६:१५ बजे फिलाडेल्फियास्थित लिंकन फाइनान्सियल फिल्डमा हाइटीसँग खेल्नेछ। 

त्यसअघि ३:१५ बजे समूहको शीर्ष स्थानमा रहेको स्कटल्यान्डले जिलेट रंगशालामा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो चरणका यी खेलपछि समूहमा कसले नकआउट चरणका लागि बलियो पकड बनाउनेछ भन्ने स्पष्ट हुने अपेक्षा गरिएको छ।

ब्राजिल भर्सेस हाइटी

फ्रान्स, स्पेन र पोर्चुगलपछि उपाधिको प्रबल दाबेदारका रूपमा हेरिएको ब्राजिलले पहिलो खेलमा आफ्नो स्तरअनुसार प्रदर्शन गर्न सकेन। टोली १–१ को बराबरीमा रोकियो।

भिनिसियस जुनियरको दर्शनीय गोलका कारण टोली भाग्यमानी बन्यो। यो गोल नहुँदो हो त विश्वकप २०२६ कै सबैभन्दा ठूलो ‘अपसेट’ नतिजा विश्व फुटबलले देख्न पाउने थियो।

बराबरीसँगै ब्राजिल स्कटल्यान्डभन्दा दुई अंकले पछाडि परेको छ। हाइटीविरुद्ध पनि सकारात्मक नतिजा नआए अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दा टोलीमाथि ठूलो दबाब पर्नेछ।

हाइटीविरुद्ध ब्राजिलले पछिल्ला भेटहरूमा एकतर्फी दबदबा कायम गरेको छ। यी दुई टोली अहिलेसम्म तीनपटक आमनेसामने भएका छन् र तीनवटै खेलको नतिजा ब्राजिलको पक्षमा गएको छ। सन् २०१६ को कोपा अमेरिकामा ब्राजिलले हाइटीमाथि ७–१ को फराकिलो जित हासिल गरेको थियो। समग्रमा ब्राजिलले हाइटीविरुद्ध १७ गोल गरेको छ।

मोरक्कोसँगको बराबरीपछि मुख्य प्रशिक्षक कार्लो एन्सिलोटीले पहिलो रोजाइमा केही परिवर्तन ल्याउने अनुमान गरिएको छ। डिफेन्सिभ भेट्रान ड्यानिलो र एलेक्स सान्ड्रोले मौका पाउने अपेक्षा गरिएको छ। त्यस्तै फाबिन्हो, लुइज हेनरिक र माथेयस कुन्हा पनि सुरुआती मिनेटदेखि मैदानमा देखिन सक्नेछन्। नेइमारको फिटनेस अझै शंकाको घेरामा छ, त्यसैले सम्भवतः उनी लगातार दोस्रो खेलमा मैदानमा देखिने छैनन्।

आक्रमणमा भिनिसियस र राफिन्हाले आफ्नो स्थान कायम राख्ने अपेक्षा गरिएको छ भने ग्याब्रियल म्यागाल्हेसले डिफेन्सलाई निरन्तरता दिनेछन्। दुई टोलीबीचको गुणस्तरीय अन्तर अझै पनि उल्लेखनीय छ। ब्राजिलले यो खेललाई आफ्नो लय निर्माण गर्ने र गोल अन्तर सुधार गर्ने अवसरका रूपमा हेर्नेछ।

हाइटीका लागि विश्वकपमा प्रतिनिधित्व गर्न पाउनु नै ठूलो उपलब्धि हो। १९७४ पछि विश्वकप खेलिरहेको हाइटीले स्कटल्यान्डविरुद्ध प्रेरणादायी प्रदर्शन गरेको थियो। यद्यपि टोलीले स्कटल्यान्डसँग १–० को साँघुरो हार बेहोर्योस।

सेबास्टियन मिग्नेको टोलीले स्कटल्यान्डविरुद्ध दृढ संकल्प देखाएको थियो। विपक्षीलाई एउटै गोलमा सीमित राखेको हाइटीले यसबाट आत्मविश्वास लिनेछ। यद्यपि ब्राजिलको चुनौती पूर्ण रूपमा फरक छ।

दोस्रो चरणको पहिलो खेलमा यदि मोरक्कोले स्कटल्यान्डलाई हरायो भने हाइटी ब्राजिलविरुद्ध थप दबाबमा पर्नेछ। यस्तो अवस्थामा ब्राजिलसँग हार बेहोरे हाइटी प्रतियोगिताबाट बाहिरिनेछ। तर प्रतियोगितामा लगातार अपसेट नतिजा आइरहेकाले हाइटी अनुशासित प्रदर्शनसहित मैदानमा उत्रने तयारीमा छ।

स्कटल्यान्ड भर्सेस मोरक्को

स्कटल्यान्ड र मोरक्कोबीचको खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। मोरक्कोलाई पराजित गरे स्कटल्यान्डले कम्तीमा दोस्रो स्थान सुनिश्चित गर्नेछ। यता स्कटल्यान्डलाई हराउन सके मोरक्कोसँग समूह विजेता बन्ने अवसर रहनेछ।

महादेशीय र विश्वकप दुवै प्रतियोगितामा स्कटल्यान्डले अहिलेसम्म समूह चरण पार गर्न सकेको छैन। यसपटक स्कटल्यान्डसँग ऐतिहासिक अवसर छ, त्यो पनि शीर्ष दुईमा रहँदै।

ब्राजिलविरुद्ध मोरक्कोले प्रभावशाली खेल प्रस्तुत गरेको थियो। एट्लास लायन्सले बल पोजेसनमा बलियो पकड बनाएको थियो। मोरक्को वास्तवमा १–१ को बराबरीभन्दा राम्रो नतिजाको हकदार देखिएको थियो।

स्ट्राइकर इस्माइल साइबारीको गोलमा मोरक्कोले अग्रता लिएको थियो। क्रियटिभ खेलाडी ब्राहिम डियाज र नौसैर मजरौईले ब्राजिललाई लगातार दबाबमा राखेका थिए। त्यस्तै कप्तान तथा राइट ब्याक अक्राफ हकिमीले पनि आफ्नो प्रदर्शनबाट सबैको मन जिते।

ब्राजिलविरुद्धको खेलपछि सन् २०२२ को सेमिफाइनलिस्ट मोरक्को आफ्नो रणनीतिक अनुशासनका कारण यसपटक पनि ‘सरप्राइज प्याकेज’ बन्न सक्ने अनुमान गर्न सकिन्छ।

विश्वकपको इतिहासमा स्कटल्यान्ड र मोरक्को दोस्रोपटक आमनेसामने हुँदैछन्। पछिल्लोपटक यी दुई टोली १९९८ फ्रान्स विश्वकपमा भिडेका थिए, जतिबेला मोरक्को ३–० ले विजयी भएको थियो।

ब्राजिलविरुद्धकै प्रदर्शन दोहोर्याउन सके उत्तर अफ्रिकी राष्ट्र मोरक्कोले स्कटल्यान्डको चुनौती सहजै पार लगाउने अपेक्षा गर्न सकिन्छ। किनभने कागजमा पनि मोरक्को स्कटल्यान्डभन्दा बलियो टोली मानिन्छ।

प्रकाशित: ५ असार २०८३ २१:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App