राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको २०८३ सालको कक्षा १२ को नतिजामा उत्तीर्ण दर उल्लेख्य रूपमा सुधार भएको देखिएको छ। यस वर्ष नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्, जुन गत वर्षको तुलनामा ८.५८ प्रतिशतले बढी हो।
गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा नियमिततर्फ कुल ३ लाख ३२ हजार २४१ विद्यार्थी सहभागी भएका थिए। तीमध्ये २ लाख ३१ हजार ७७० विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गर्दै उत्तीर्ण भएका हुन्। अघिल्लो वर्ष कक्षा १२ को उत्तीर्ण दर ६१.१७ प्रतिशत रहेको थियो।
बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार पछिल्ला केही वर्षयता परीक्षा प्रणालीमा गरिएको सुधार र न्यूनतम उत्तीर्णांक ३५ प्रतिशत कायम गरिएपछि विद्यार्थी र शिक्षक दुवैको जिम्मेवारी बढेको छ। उनका अनुसार शिक्षकले नियमित रूपमा पढाउन थालेका छन् भने विद्यार्थी पनि अध्ययनप्रति गम्भीर बन्न थालेपछि नतिजामा सुधार देखिएको हो।
यद्यपि, उच्च जिपिए ल्याउने विद्यार्थीको संख्या भने अझै सीमित देखिएको छ। यस वर्ष ३.६१ देखि ४ जिपिए ल्याउने विद्यार्थी १७ हजार ७ सय ८६ रहेका छन् भने ३.२१ देखि ३.६० जिपिए ल्याउने विद्यार्थी संख्या ६४ हजार ८२१ पुगेको छ। सबैभन्दा धेरै विद्यार्थी २.८१ देखि ३.२० जिपिए समूहमा परेका छन्, जसको संख्या ९४ हजार २४९ रहेको छ।
बोर्डका अनुसार २०८० सालमा केवल ४७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। यो दर २०८१ मा ५२.१५ प्रतिशत पुगेको थियो भने अहिले ६९.७५ प्रतिशतमा उक्लिएको छ। यसले कक्षा १२ को नतिजा निरन्तर सुधारोन्मुख रहेको संकेत गरेको छ।
सदस्य सचिव अर्यालले परीक्षा सुधारका लागि प्रश्नपत्र निर्माण, उत्तरपुस्तिका परीक्षण, मार्किङ स्किम तथा परीक्षक प्रशिक्षण कार्यक्रम देशभर सञ्चालन गरिएको बताए। स्थानीय तहदेखि विद्यालयस्तरसम्म परीक्षा सुधारका कार्यक्रम सञ्चालन गरिएकाले मूल्यांकन प्रणालीमा एकरूपता आएको उनको भनाइ छ।
यस वर्ष परीक्षामा अमर्यादित गतिविधिमा संलग्न ४० विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ। ती विद्यार्थीलाई थप एक वर्षसम्म बोर्डबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने निर्णय गरिएको छ।
बोर्डले नतिजामा चित्त नबुझेका विद्यार्थीलाई नतिजा सार्वजनिक भएको सात दिनभित्र प्रतिविषय एक हजार रुपैयाँ शुल्क तिरेर पुनर्योगका लागि आवेदन दिन सकिने व्यवस्था गरेको जनाएको छ।
प्रकाशित: ५ असार २०८३ २०:५२ शुक्रबार





