लगातारको वर्षाका कारण पहिरो खसेर अवरुद्ध भएको खोटाङको साकेला गाउँपालिका–३ स्थित ढाडे–मानेभञ्ज्याङ सडक जनश्रमदानबाट सुचारु गरिएको छ।
बिहीबार रातिदेखि परेको वर्षाका कारण पहिरो र हिलोले सडक अवरुद्ध भएपछि स्थानीय जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी र सर्वसाधारणले श्रमदान गरेका हुन्। गाउँपालिकाको ट्याक्टर र ब्याकहोलोडरसमेत प्रयोग गरी शनिबार बिहानसम्म सडक सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका सूचना अधिकारी डिएम चामलिङका अनुसार अध्यक्ष रविप्रकाश राईको अगुवाइमा ‘साकेला श्रम अभियान टोली’ परिचालन गरी १२ घण्टाभित्रै सडक सुचारु गरिएको हो। वडा नम्बर ३ का अध्यक्ष गोविन्द तामाङको समन्वयमा स्थानीयलाई श्रमदानमा सहभागी गराइएको थियो।
साकेला गाउँपालिकाले विपद्का बेला सम्बन्धित वडाको समन्वयमा स्थानीयलाई परिचालन गर्ने श्रम अभियान सञ्चालन गर्दै आएको छ। यस अभियानमा जनप्रतिनिधि, कर्मचारी, राजनीतिकर्मी तथा सर्वसाधारण स्वतःस्फूर्त सहभागी हुँदै आएका छन्।
अध्यक्ष राईका अनुसार वर्षाका कारण पहिरो खस्ने, सडकमा हिलो जम्ने, नाला पुरिने तथा बाढीको निकास अवरुद्ध हुने समस्या ३ देखि १२ घण्टाभित्र जनश्रमदानबाट समाधान गर्ने अभ्यास बसाइएको छ। कठिन कामका लागि गाउँपालिकाको स्काभेटर, ट्याक्टरलगायत उपकरण प्रयोग गरिन्छ।
‘विकास सरकारको मात्र होइन, सरकार र नागरिकको साझा अभियान हो’ भन्ने मान्यताका साथ श्रम अभियानलाई स्थानीय विकास र सार्वजनिक संरचना संरक्षणमा जोडिएको गाउँपालिकाले जनाएको छ। अभियानमार्फत सडक, नाला, विद्यालय, वडा कार्यालय तथा स्वास्थ्य चौकीलगायत सार्वजनिक संरचनाको सरसफाइ तथा मर्मतसमेत गरिँदै आएको छ।
प्रकाशित: २३ श्रावण २०८३ २०:५८ शनिबार





