६ आश्विन २०८३ मंगलबार
image/svg+xml
राजनीति

नेपाली कम्युनिस्ट पार्टीले असोज १५ देखि दुई महिने राष्ट्रिय जनअभियान चलाउने

नेपाली कम्युनिस्ट पार्टीले संगठन निर्माण, सदस्यता विस्तार तथा पार्टी र जनवर्गीय संगठनको समायोजनलाई केन्द्रमा राख्दै असोज १५ गतेदेखि मंसिर १५ गतेसम्म दुई महिने राष्ट्रिय जनअभियान सञ्चालन गर्ने भएको छ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षता तथा सहसंयोजक माधवकुमार नेपालको सञ्चालनमा बसेको केन्द्रीय कार्य संयोजन समितिको पाँचौँ बैठकले राष्ट्रिय जनअभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता प्रकाश ज्वालाले अभियान केन्द्रदेखि गाउँ, वडा र टोल हुँदै जनताको घरदैलोसम्म सञ्चालन गरिने बताए।

उनका अनुसार अभियानअन्तर्गत संगठन निर्माणसँगै बाँकी पार्टी तथा जनवर्गीय संगठनको समायोजन, सदस्यता वितरण र नवीकरणका कामलाई अघि बढाइनेछ।

‘असोज १५ गतेदेखि मंसिर १५ गतेसम्म दुई महिने राष्ट्रिय जनअभियान सञ्चालन गर्ने निर्णय गरेका छौँ। केन्द्रदेखि गाउँ–गाउँ, टोल–टोल र जनताको घरदैलोसम्म पुगेर अभियान सञ्चालन गर्नेछौँ,’ ज्वालाले भने।

अभियानको विस्तृत कार्ययोजना दसैँअघि बस्ने पार्टी केन्द्रीय सचिवालय बैठकले पारित गर्ने उनले जानकारी दिए।

बैठकले विचार, सिद्धान्त र कार्यक्रम मिल्ने कम्युनिस्ट तथा वामपन्थी दलसँग वार्ता र पार्टी एकताको प्रक्रिया अघि बढाउन तीन सदस्यीय वार्ता समिति गठन गरेको छ।

देव गुरुङको संयोजकत्वमा गठित समितिमा प्रकाश ज्वाला र गंगानारायण श्रेष्ठ सदस्य छन्। समितिले विभिन्न कम्युनिस्ट तथा वामपन्थी दलसँग वार्ता अघि बढाउने र सहमति जुट्ने दलसँग पार्टी एकताको प्रक्रिया अगाडि बढाउने ज्वालाले बताए।

उनका अनुसार एमालेसहित विभिन्न वामपन्थी तथा कम्युनिस्ट दलसँग पनि आवश्यकताअनुसार छलफल र वार्ता अघि बढाउन सकिनेछ।

बैठकले रसुवा र भोटेकोशी क्षेत्रमा बाढी–पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणमा सहयोग गर्ने निर्णयसमेत गरेको छ।

यसका लागि यसअघि गठन गरिएको समन्वय समितिलाई नै जिम्मेवारी दिइएको ज्वालाले बताए। उनका अनुसार पार्टी कमिटी, युवा तथा विद्यार्थी संगठनलाई प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।

बाढी–पहिरो प्रभावितको उद्धार तथा राहत, बसोबासको पुनर्स्थापना, विद्यार्थीको व्यवस्थापन र घाइतेको उपचारलगायतका काममा पार्टी सक्रिय रूपमा लाग्ने उनले बताए।

बैठकले पार्टीको महाधिवेशन तथा मातहतका अधिवेशनको नयाँ कार्यतालिका तय गर्ने विषय पनि सचिवालय बैठकमा लैजाने निर्णय गरेको छ।

यसअघि भदौदेखि वडा, गाउँपालिका, नगरपालिका, जिल्ला र प्रदेश अधिवेशन गर्दै मंसिरमा महाधिवेशन गर्ने कार्यतालिका तय गरिएको थियो। तर बाढी–पहिरोलगायतका कारण उक्त कार्यतालिका कार्यान्वयनमा कठिनाइ आएको ज्वालाले बताए।

सदस्यता नवीकरणलगायतका कामलाई समेत ध्यानमा राखेर महाधिवेशन र मातहतका अधिवेशनको नयाँ कार्यतालिका सचिवालय बैठकले तय गर्नेछ।

बैठकले सरकारका गतिविधि, महँगी, भ्रष्टाचार, कुशासन, सुकुम्बासी तथा भूमिहीनका समस्या र अशान्तिलगायतका विषयलाई लिएर आवाज उठाउने तयारी गरेको छ।

राष्ट्रिय स्वाधीनता र संविधानको रक्षाका विषयलाई समेत जोड दिँदै आवश्यकताअनुसार संसद् र सडकबाट आन्दोलनका कार्यक्रम अघि बढाउने प्रस्ताव सचिवालय बैठकमा लैजाने ज्वालाले बताए।

‘संसद्मा पनि सशक्त रूपमा आवाज उठाउने र सडकमा पनि जनजीविकाका सवाल, राष्ट्रिय स्वाधीनता र जनताका मुद्दा लिएर जाने किसिमले सचिवालयको बैठकमा एजेन्डा प्रस्तुत गर्छौँ,’ उनले भने।

बैठकको प्रारम्भमा रसुवा तथा भोटेकोशी बाढी–पहिरोमा ज्यान गुमाएका नागरिक तथा ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।

त्यसपछि संयोजक प्रचण्ड र सहसंयोजक नेपालले राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनता, संविधान तथा लोकतान्त्रिक गणतन्त्रमाथिका चुनौती र पार्टीको आगामी दायित्वबारे बैठकलाई अभिमुखीकरण गरेका थिए।

 

प्रकाशित: ६ आश्विन २०८३ २०:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App