६ आश्विन २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

राष्ट्रसङ्घमा ट्रम्पको चेतावनी: इरानलाई ध्व’स्त बनाएर नर्कमा धकेलौं कि सम्झौता गरौं ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै इरानविरुद्ध चेतावनी दिएका छन्।

आफ्नो दोस्रो कार्यकालमा आठवटा युद्ध अन्त्य गरेको दाबी गरेका ट्रम्पले इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने वा नयाँ सम्झौता गर्नेमध्ये एक निर्णय लिनुपर्ने घडीमा आफू पुगेको बताएका हुन्।

महासभामा बोल्दै राष्ट्रपति ट्रम्पले अमेरिकी सेना र अर्थतन्त्रको अभूतपूर्व शक्तिको प्रशंसा गरे। 

‘अमेरिका उदाउँदैछ, हाम्रो शक्ति विस्तार भइरहेको छ, हाम्रो देश पहिलेभन्दा राम्रो गरिरहेको छ र हाम्रो भविष्य अत्यन्तै उज्ज्वल छ,’ ट्रम्पले भने।

सम्बोधनका क्रममा ट्रम्पले इरानको विषयमा आफू निर्णायक मोडमा पुगेको बताए। ‘के म इस्लामिक गणतन्त्रलाई तत्काल सखाप पारौं ? के म उनीहरूलाई नर्कमा धकेलौं ? वा इरानी अर्थतन्त्रलाई पुनः ब्युँतिन दिने गरी सम्झौता गरौं ? मसँग ठूलो निर्णय लिन बाँकी छ,’ उनले भने।

आउँदो नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनको नतिजा कुरेर बसेको तेहरानले चुनाव सकिएलगत्तै सम्झौता गर्ने उनको दाबी थियो।

विगतको प्रसंग निकाल्दै ट्रम्पले आफू सत्तामा फर्किएलगत्तै आणविक कार्यक्रम र आतंकवादको समर्थन त्यागे इरानलाई पूर्ण आर्थिक सहयोगको प्रस्ताव गरेको बताए।

तर, इरानले त्यो अस्वीकार गरेर ठूलो गल्ती गरेको उनको भनाइ थियो। त्यसलगत्तै अमेरिकी सेनाले सन् २०२५ मा चलाएको ‘अपरेसन मिडनाइट ह्यामर’ मार्फत पहाडमुनि लुकाइएका इरानका आणविक पूर्वाधार ध्वस्त पारिदिएको ट्रम्पले दाबी गरे।

आक्रमणपछि पनि सम्झौताको प्रस्ताव राख्दा इरान पछि हटेको र युरोपसम्म प्रहार गर्न सक्ने क्षेप्यास्त्र निर्माण गरेको आरोप उनले लगाए।

ट्रम्प प्रशासनले आणविक केन्द्रहरू ध्वस्त पारेको दाबी गरे पनि पेन्टागनको गोप्य मूल्यांकनले भने त्यसलाई पुष्टि गर्दैन। आक्रमणबाट भौतिक क्षति भए पनि पहाडभित्र गहिरो गरी बनाइएका संरचना पूर्ण रूपमा नष्ट नभएको र इरानको आणविक कार्यक्रम केही महिनाका लागि मात्र पछि धकेलिएको अमेरिकी रक्षा मन्त्रालयको निष्कर्ष छ।

सम्बोधनमा ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा आठवटा युद्ध अन्त्य गराएको पुरानो दाबीलाई पुनः दोहोर्‍याए। ‘तीमध्ये लगभग हरेक देशले मलाई धन्यवाद पत्र लेखेका छन्,’ उनले भने।

पाकिस्तानका प्रधानमन्त्रीले आफूलाई भेटेर ‘तपाईंले ३ करोड मानिसको ज्यान बचाउनुभयो’ भनेको दाबी समेत ट्रम्पले गरे। ट्रम्पले अन्त्य गराएको दाबी गरेका आठ द्वन्द्वहरूमा इजरायल-हमास, इजरायल-इरान, इजिप्ट-इथियोपिया, भारत-पाकिस्तान, सर्बिया-कोसोभो, रुवान्डा-कङ्गो, अर्मेनिया-अजरबैजान र कम्बोडिया-थाइल्यान्ड रहेका छन्। तर, दोस्रो पटक राष्ट्रपति निर्वाचित भए एकै दिनमा रोक्ने उद्घोष गरेको रुस-युक्रेन युद्ध भने अझै जारी छ।

विश्वका अन्य नेताहरूले कुरा मात्र गरेको तर आफूले व्यवहारमै शान्ति स्थापना गरेको जिकिर गर्दै ट्रम्पले खतराहरूलाई मौलाउन नदिई आफूले प्रत्यक्ष सामना गरेको दाबी गरे।

प्रकाशित: ६ आश्विन २०८३ २०:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App