२३ श्रावण २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

मुख्यमन्त्री बनेको तीन महिनापछि पत्नीले फिर्ता लिइन् सम्बन्धविच्छेदको निवेदन

तमिलनाडुका मुख्यमन्त्री तथा अभिनेता विजय थलापतिकी पत्नी संगीताले शुक्रबार अदालतमा दायर गरेको सम्बन्धविच्छेदको निवेदन फिर्ता लिएकी छन्। सुनुवाइमा उनी बेलायतबाट भिडियो कन्फरेन्समार्फत अदालतमा उपस्थित भएकी थिइन्।

संगीताले न्यायाधीश सुजातालाई आफूले सम्बन्धविच्छेदको निवेदन फिर्ता लिन चाहेको जानकारी दिएपछि न्यायाधीशले करिब १५ मिनेटसम्म उनीसँग छलफल गरेपछि निवेदन फिर्ता लिन अनुमति दिँदै मुद्दा अन्त्य गरिदिएकी छन्।

संगीताले यसै वर्ष फेब्रुअरीमा सम्बन्धविच्छेदका लागि निवेदन दायर गरेकी थिइन्। निवेदनमा उनले विजयमाथि वैवाहिक सम्बन्धबाहिरको सम्बन्ध रहेको आरोप लगाएकी थिइन्। विजयले यसै वर्ष १० मेमा तमिलनाडुको मुख्यमन्त्रीको शपथ लिएका थिए।

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार, संगीताले निवेदनमा विजयको एक अभिनेत्रीसँग वैवाहिक सम्बन्धबाहिरको सम्बन्ध रहेको दाबी गरेकी थिइन्। उनलाई यसबारे सन् २०२१ को अप्रिलमा थाहा भएको उनको भनाइ थियो। यद्यपि उनले ती अभिनेत्रीको नाम उल्लेख गरेकी थिइनन्।

उनले विजयले आफूलाई लगातार मानसिक रूपमा प्रताडित गरेको, बेवास्ता गरेको र भावनात्मक रूपमा टाढिएको आरोप पनि लगाएकी थिइन्। उनीहरूको वैवाहिक सम्बन्ध पूर्ण रूपमा बिग्रिएको र एउटै घरमा रहे पनि अलग–अलग बस्नुपर्ने अवस्था सिर्जना भएको उनको दाबी थियो।

निर्वाचन प्रचारका क्रममा यो विषय निकै चर्चामा आएको थियो। त्यसबेला अभिनेत्री तृषा कृष्णनको नाम विजयसँग जोडिएको थियो। तर विजय र तृषाले आफ्नो सम्बन्धबारे सार्वजनिक रूपमा कुनै पुष्टि गरेका छैनन्।

तृषा विजयको मुख्यमन्त्री पदको शपथ ग्रहण समारोहमा पनि सहभागी भएकी थिइन्।

प्रकाशित: २३ श्रावण २०८३ ११:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App