२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

मोहन बस्नेत भन्छन्- गगनलाई चुनावमा सहयोग नगरेकै हो, जे सक्छौं गर

नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले पार्टी सभापति गगन थापाविरुद्ध आफूले निर्वाचनमा ‘खुला घात’ गरेको बताएका छन्। उनले आफूले लुकाएर नभई सार्वजनिक रूपमै थापालाई सहयोग नगरेको दाबी गरेका छन्।

शुक्रबार सिन्धुपाल्चोकको बाह्रबिसे पुगेका बस्नेतले फागुन २१ गतेको निर्वाचनमा आफूले गरेको गतिविधिलाई अन्तर्घात भन्न नमिल्ने बताए। ‘मेरा साथीभाइले सबैले सहयोग गरेको हो। मैले के-को अन्तर्घात ? खुल्लै घात गरेको हो। किन लुकाउनु ?’ उनले भने, ‘मैले सहयोग नगरेकै हो, जे सक्छौं गर।’

बस्नेतले कांग्रेस नेतृत्वले पुराना नेताको अनुहार हेरेर मत नआउने भन्ने धारणा राखेको भन्दै आफू पनि पुराना नेताको समूहमा पर्ने भएकाले टिकट नदिइएको र चुनावमा सहयोगसमेत अपेक्षा गरिएको विषयमा प्रश्न उठाए।

‘पुराना नेताहरूको अनुहारै हेर्‍यो भने भोट आउँदैन भन्ने, म पनि पुरानाभित्र परेर टिकट नपाउने। शेरबहादुर देउवाको अनुहारै हेर्न हुँदैन भनेर गगन थापाको हस्ताक्षर लिएर गएको होइन ?’ उनले प्रश्न गरे।

बस्नेतले तत्कालीन कांग्रेसका सभापति शेरबहादुर देउवाले विगतमा पार्टीलाई चुनावमा सफलता दिलाएको बताउँदै देउवाको अनुहारले काम नगर्ने तर गगन थापाको अनुहारले मात्रै मत आउने भन्ने तर्क उचित नभएको बताए।

‘आफू कहिल्यै नहार्ने शेरबहादुर देउवा, कांग्रेसको बहुमतै बहुमत बनाएर राख्नुभयो। उहाँको अनुहारले काम नहुने रे, गगन थापाको तर्साउने अनुहारले भोट आउने ?’ उनले भने।

बस्नेतले थापाको निर्वाचन क्षेत्रसमेत सुनिश्चित नभएको र महामन्त्री हुँदै प्रधानमन्त्री बन्ने आकांक्षा राखे पनि त्यसका लागि पहिले आफ्नै निर्वाचन क्षेत्रबाट चुनाव जित्नुपर्ने उनको भनाइ थियो।

‘गगन थापाजीको आगामी निर्वाचनमा चुनाव क्षेत्र नै छैन भनेको थिएँ। उहाँ महामन्त्री हुनुहुन्थ्यो। कहाँ लड्ने भन्ने थाहा छैन। प्रधानमन्त्री हुने रे ! प्रधानमन्त्री हुन त पहिला आफ्नो चुनाव जित्नुपर्‍यो,’ बस्नेतले भने।

प्रकाशित: २३ श्रावण २०८३ १८:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App