गोल्डेनपिक, इडेन ब्रिज एकेडेमी (इबीए) र डिफेन्डिङ च्याम्पियन रिब्सले शनिबार पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।
गोल्डेनपिक सिनियर ब्वाइज, इबिए जुनियर ब्वाइज र रिब्स सिनियर गल्र्समा च्याम्पियन बने। गोल्डेनपिक र इबिए अपराजित रहँदै च्याम्पियन बने भने रिब्स समूहचरणमा १ खेलमा पराजित भएको थियो। गोल्डेनपिकले पहिलो संस्करणपछि पहिलोपटक सहभागिता जनाएको हो।
इबिए पहिलो सहभागितामै च्याम्पियन बन्न सफल भयो। बुद्धनगरस्थित आयोजक केएमसीमा भएको सिनियर ब्वाइजको फाइनलमा गोल्डेनपिकले बाल दीक्षा सदनलाई ४८–४५ को झिनोअन्तरले पराजित ग¥यो। गोल्डेनपिकका विजय तामाङले २१ अंक जोडे। जुनियर ब्वाइजको फाइनलमा इबिएले ग्रिनफिल्डलाई ४१–२१ ले हरायो। इबिएका दिग्विजय पुरीले ११स्कोर गरे।
सिनियर गल्र्सको उपाधि भिडन्तमा रिब्सले चेल्सी वल्र्ड स्कुललाई २५–२१ ले पाखा लगाउँदै उपाधि रक्षा ग¥यो। रिब्सकी सुप्रिया मल्लले ११ अंक जोडिन्। उपाधिसँगै रिब्सले चेल्सीसँग समूह चरणमा बेहोरेको हारको बदला पनि लियो। फाइनलका सर्वाधिक स्कोरकर्तात्रय विजय, दिग्विजय र सुप्रिया आआफ्नो विधामा मोस्ट भेलुएबल प्लेयर घोषित भए। सिनियर ब्वाइजमा नेपाल सेन्ट्रल, सिनियर गल्र्समा मानाङ्क चिल्ड्रेन र जुनियर ब्वाइजमा गोल्डेन फ्लावरले स्पिरिट अफ केएमसी बास्केटबल अवार्ड हात पारे।
विजेतालाई बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री उर्मिला नेपाल, प्याब्सनका केन्द्रीय उपाध्यक्ष किशोर गौतम, केएमसीका कार्यकारी निर्देशक डा. ध्रुव भट्टराई, निर्देशक एसोसिएट प्रोफेसर डा. मनोजकुमार थापा र प्रिन्सिपल द्वारिकानाथ अम्गाईंले पुरस्कृत गरे।
प्रकाशित: ४ माघ २०८२ ०९:३६ आइतबार




