राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकको समग्र रूपान्तरण र समृद्धिका लागि आफ्नो पार्टीलाई ५ वर्षको स्पष्ट जनादेश दिन आम मतदातासँग आग्रह गरेका छन्।
बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित वाचा पत्र २०८२ सार्वजनिक तथा परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
सभापति लामिछानेले आगामी निर्वाचनलाई सामान्य चुनाव मात्र नभई देशको भाग्य र भविष्य बदल्ने एउटा उत्सवका रूपमा व्याख्या गरे।
‘हामीले वाचा पत्रमा १०० वटा नीतिगत आधारहरू प्रस्तुत गरेका छौं,’ उनले भने, ‘यदि हामीले गरेका वाचा पूरा गर्न सकेनौं भने हामी सजाय भोग्न तयार छौं। यो नागरिकसँग गरिएको एउटा पवित्र करार हो।
पछिल्लो समय डोजर लाई लिएर भइरहेको चर्चा र त्रासप्रति लक्षित गर्दै लामिछानेले रास्वपाको सरकार आए भ्रष्टाचारीहरू मात्र डराउनुपर्ने स्पष्ट पारे।
‘हाम्रो सरकार आए उठिबास लगाउँछ भनेर भ्रम छरिएको छ,’ उनले भने, ‘डोजर चल्यो भने सबैभन्दा पहिले भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीमा होइन। हामी सुकुम्बासी र भूमिहीनलाई विस्थापित होइन, व्यवस्थित गर्छौँ।’
आफ्नो पत्रकारिताको सुरुवाती दिनहरूमा कालीकोटमा अस्पताल निर्माण गरेको स्मरण गर्दै लामिछानेले कर्णालीलाई अब राज्यले पछाडि पार्न नपाउने दाबी गरे।
उनले भने, ‘कर्णालीलाई सधैँ पछाडि पारियो, तर अब रास्वपाले कर्णालीका सपनालाई आफ्नो काँधमा बोकेर हिँड्नेछ। त्यही भएर हामीले कर्णालीको यो पवित्र भूमिबाट चुनावी मार्गचित्र सार्वजनिक गरेका हौं।’
मुलुकमा देखिएको राजनीतिक अस्थिरताको अन्त्यका लागि बहुमतको स्थायी सरकार अनिवार्य रहेको लामिछानेको तर्क थियो।
‘हामीलाई ५ वर्षको म्यान्डेट दिनुहोस्। एउटा देश, एउटा झण्डा, एउटा चुनाव चिह्न र एउटा स्पष्ट भिजन भएको सरकारले कसरी काम गर्छ भन्ने हामी देखाउँछौं,’ उनले थपे।
रास्वपामा सबैभन्दा धेरै युवा, महिला र विज्ञहरूको संलग्नता रहेको दाबी गर्दै उनले अब देश चलाउने जिम्मा नयाँ पुस्ताको काँधमा आएको सुनाए।
प्रकाशित: ७ फाल्गुन २०८२ १६:३९ बिहीबार





