२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

जेन-जी आन्दोलनमा भागेको हेलिकोप्टर फेरि सिंहदरबारमा अवतरण नहोस्ः रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रलाई खतरा हुने व्यक्ति हेलिकोप्टर चढेर भागिसकेको बताउँदै त्यो हेलिकोप्टर फेरि बालुवाटार र सिंहदरवारमा आउन नहुने बताएका छन्। सुर्खेतमा आयोजित चुनावी सभालाई बिहीबार सम्बोधन गर्दै उनले लोकतन्त्र जोगाउन कुनै नेता वा पार्टीले ठेक्का लिन नपर्ने बताए।  

'लोकतन्त्रलाई जसबाट खतरा थियो, ऊ हेलिकोप्टर चढेर भागेको छ । लोकतन्त्रलाई खतरा तब हुन्छ, जब त्यो हेलिकोप्टर सिंहदरवार र वालुवाटारमा फर्किन्छ,’ उनले भने, 'भागेको त्यो हेलिकोप्टर जहाँ ल्याण्ड हुन्छ ल्याण्ड होस्, हामीलाई भन्नु केही छैन् तर जनताको भाग्य र भविश्य फेर्ने सिंहदरवारमा ल्याण्ड नहोस्, यति भए पुग्छ ।’

उनले फरिवर्तनको झिल्कोलाई कसैले पनि चुनौति दिन नहुने बताए । उनले अहिले चुनाव सार्नुपर्छ, चुनावले निकास दिँदैन भन्ने सुनिएको बताउँदै चुनावले निकास नदिने भए केले निकास दिन्छ ? भन्दै प्रश्न गरे । 'लोकतन्त्रको ठूलो ताकत जनता हुन्, जनताले आफ्‌नो भोटबाट आफ्‌नो ताकत देखाउने यो उत्सव हो,’ उनले भने, 'यो निर्वाचनले निकास दिन्न भने केले दिन्छ ?’  

उनले आफू मतबाट नभएर रोडबाट पनि भिड्न तयार रहेको बताए । 'रोडबाट भए रोडबाट भोट (मत)बाट भए भोटबाट आउनुहोस्, तर, हामी भोटबाट व्यवस्था फेर्न चाहन्छौं, रगतको एउटा थोपा चुहाउन चाहँदैनौं,’ उनले भने, 'कर्णालीका धेरै आमाहरुको काख रित्तिएको छ, धेरै दिदी–बहिनीहरुको सिउँदो पुछिएको छ, बालबालिकाहरु टुहुरा भएका छन् । त्यसैले हामी भोटबाट परिवर्तन चाहन्छौं ।’

सभापति लामिछानेले कर्णालीमा आएर बाचापत्र सार्वजनिक गरिएको बताउँदै गरेका बाचा पूरा गर्ने बताए । ॅबाचा पूरा गर्न नसक्नेले सजाय भोग्ने हो,’ उनले भने, 'त्यस कारणले नागरिकहरुसँग करार गर्न आएका छौं ।’

प्रकाशित: ७ फाल्गुन २०८२ १६:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App