राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले कर्णालीको उपेक्षा गरिएको गहिराई बुझ्न र यहाँको सभ्यतालाई पुनर्जीवित गर्न आफ्नो पार्टी कर्णालीको भूमिमा आएको बताएका छन्।
बिहीबार सुर्खेतमा आयोजित वाचा पत्र २०८२ सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कर्णालीको सम्भावना र चुनौती दुवैलाई नयाँ दृष्टिकोणबाट हेर्नुपर्नेमा जोड दिए।
नेता शाहले कर्णालीको प्राकृतिक र भौगोलिक विशेषताको प्रशंसा गरे। ‘स्वर्गकी अप्सरा मानिने रारा ताल, देशकै लामो नदी कर्णाली, र देशको सबैभन्दा ठूलो जिल्ला तथा गाउँपालिका भएको ठाउँमा आउन पाउँदा अत्यन्तै खुसी लागेको छ,’ उनले भने।
देशको सबैभन्दा गहिरो ताल शे-फोक्सुण्डो कर्णालीमै रहेको स्मरण गराउँदै शाहले भने, ‘देशको सबैभन्दा गहिरो ताल यहीँ छ, तर त्यो गहिराईलाई आजसम्म कुनै पनि सरकार वा दलले बुझ्न सकेनन्। रास्वपा त्यही गहिराई बुझ्न चाहन्छ र बुझ्ने क्षमता राख्छ।’
कर्णालीको उत्पादनले उचित बजार नपाएकोमा चिन्ता व्यक्त गर्दै शाहले रास्वपाले यहाँको अर्थतन्त्रलाई राष्ट्रिय मूलधारमा जोड्ने योजना अघि सारेको सुनाए।
‘कर्णालीको सुन मानिने यार्सागुम्बा विश्वभर पुग्छ, तर यहाँको स्याउ र मार्सी चामल चितवन र झापासम्म पुग्न सकेको छैन,’ उनले भने, ‘हामी कर्णालीको मार्सी र स्याउलाई देशभर पुर्याउन चाहन्छौं, हामी त्यही काम गर्न आएका हौं।’
वरिष्ठ नेता शाहले कर्णालीलाई केवल स्रोत र साधनको रूपमा मात्र नभई नेपाली पहिचानको उद्गमस्थलका रूपमा सम्मान गर्नुपर्ने बताए।
सिञ्जा सभ्यता जोगाउने अभियानमा रास्वपा लाग्ने उद्घोष गर्दै उनले भने, ‘नेपाली भाषाको उद्गमस्थल, आफ्नै भाषा, लिपि, चित्रकला र मौलिक संस्कृति भएको यो सभ्यतालाई जोगाउने पार्टी रास्वपा नै हो।’
उनले कुनै पनि स्थानको आफ्नै कला, संस्कृति र लिपि हुनु नै वास्तविक सभ्यता भएको र त्यसलाई आधुनिकतासँग जोड्दै संरक्षण गर्नु आजको आवश्यकता रहेको बताए।
प्रकाशित: ७ फाल्गुन २०८२ १६:२९ बिहीबार





