१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
खेल

एनआरटी र आर्मीको पाँचौं जित

शीर्ष डिभिजन क्लब न्युरोड टिम (एनआरटी) र विभागीय टोली त्रिभुवन आर्मीले राष्ट्रिय लिगमा पाँचौं जित निकाल्दै शीर्ष स्थानका लागि दबाब बढाएका छन्।

आगामी फागुन २१ गते हुने आम निर्वाचनका कारण अबको एक हप्तासम्म राष्ट्रिय लिगले विश्राम पाउनेछ। विश्रामअघि भएको अन्तिम खेलमा शीर्ष डिभिजन क्लब एन्फा प्रेसिडेन्ट लिगबाट छनोट भएर राष्ट्रिय लिग खेलिरहेको टोलीविरुद्ध हाबी भए।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा चित्लाङ एफसीले भने एनआरटीलाई चुनौती दिने प्रयास गर्‍यो। तर, नाइजेरियाका टिमोथी चिमेरी ओकेरेके चम्केपछि एनआरटीले चित्लाङमाथि २–१ को साँघुरो जित निकाल्यो। टिमोथी म्यान अफ दी म्याच पनि भए। तर, अर्को मोफसल टोली नव जनजागृति युवा क्लबले भने सबैभन्दा घरेलु प्रतियोगितामा आफूलाई अभैm प्रमाणित गर्न सकेन।

दिनको पहिलो खेलमा नव जनजागृति विभागीय टोली आर्मीसँग ३–० ले पराजित हुन पुग्यो। यससँगै लगातार आठौं खेलसम्म जनजागृति जितविहीन बन्यो। आर्मी र एनआरटीको समान पाँचौं जित पनि हो। यो जितसँगै दुवै टोलीले एक हप्ता विश्राम पाउनेछन्। आर्मीको जितमा जर्जप्रिन्स कार्की, नवयुग श्रेष्ठ र कुन्साङ लामाले समान एक गोल गरे। जिलेस्पीजंग कार्की प्लेअर अफ दी म्याच भए। जितपछि आर्मीले पनि शीर्षता होडमा दबाब बढाएको छ। एनआरटीले सुरुमा नै गोल गर्दै चित्लाङमाथि दबाब बनाउने प्रयास गरेको थियो। तर, चित्लाङले गोल सामना गरेपछि सुधारिएको प्रदर्शन गर्दै उल्टै एनआरटीलाई चुनौती दियो। एनआरटीका राजीव लोप्चन र टिमोथीले समान एक गोल गरे।

चित्लाङले आत्मघाती गोल पायो। यो जितपछि एनआरटीले शीर्ष स्थानका लागि दबाब बढाएको छ। ९ खेलबाट एनआरटीले १८ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ। जुन आठ खेल खेलेको एपिएफको भन्दा दुई अंकले कम हो। आठ खेलबाट लालीगुराँस एसोसिएसन १८ अंक छ। आर्मीले आठ खेलबाट १७ अंक जोडेको छ। त्यसैले एनआरटीलाई पछि पार्ने अवसर आर्मीसँग हुनेछ। जितपछि एनआरटीका प्रशिक्षक जीवन सिन्केमानले चोटका कारण केही खेलाडी भर्खर रिकभर भइरहेकाले टिम पूर्ण रूपमा सेट हुन नपाएको बताए। ‘अञ्जन विष्ट, मनीष डाँगी र आदित्य शाक्य जस्ता स्टार खेलाडीहरू भर्खर रिकभर हुँदै छन्। यसबीच युवा खेलाडीलाई अवसर दियौं। लगातार प्लेइङ सेटमा परिवर्तनपछि तालमेल राम्रो भएको छैन,’ प्रशिक्षक सिन्केमानले भने।

पहिलो गोलपछि आफ्नो टोलीले अर्गनाइज फुटबल खेल्न नसकेको उनको भनाइ छ। ‘पहिलो गोलपछि चित्लाङले नै दबाब बनायो। हामीले सोचेअनुरूप खेल्न सकेनौं। तर, गोल निस्किँदा जित निकाल्न सफल भयौं,’ उनले भनेका छन्। चित्लाङका प्रशिक्षक प्रज्वलप्रताप क्षेत्रीले दुवै टोली जित्नकै लागि आएको र त्यहीअनुरूप दुवैले राम्रो फुटबल देखाएको बताए। ‘एनआरटी राम्रो टोली हो। हामी पनि जित्छौं भनेर आएका थियौं। त्यहीअनुरूप खेल्ने प्रयास गर्‍यौं। त्यस कारण पनि राम्रो फुटबल खेल्यौं। तर, गल्ती गर्न पुग्दा दुई गोल सामना गर्‍यौं,’ चित्लाङका प्रशिक्षक प्रज्वलले भने,‘राम्रोसँग मार्क गर्न नसक्दा दुवै गोल बेहोर्‍यौं।’ एनआरटीले खेलको दसौं मिनेटमा नै अग्रता लियो।

राजीवले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका हुन्। त्यसको दुई मिनेटपछि नै एनआरटीले अर्को अवसर बुन्यो। तर, सफलता पाउन सकेन। ३७औं मिनेटमा आत्मघाती गोलबाट चित्लाङ खेलमा फर्कियो। आरोन थापाको कर्नर प्रहार रोक्ने प्रयासमा एनआरटीका सनम सोदेम्बा लिम्बू आफ्नै पोस्टमा गोल गर्न पुगे। तीन मिनेटपछि एनआरटीका अञ्जन विष्टले सफलता पाउन सकेनन्। लेफ्ट साइडबाट उनले गरेको फ्रिकिक दोस्रो बार नजिकैबाट बाहिरियो। बराबरीपछि चित्लाङले लगातार दुई उत्कृष्ट अवसर बुन्यो। तर, त्यसमा सफल भने भएन। ४१औं मिनेटमा चित्लाङले उत्कृष्ट अवसर सिर्जना ग¥यो। एनआरटी गोलकिपर विशाल सुनार बिट भएको अवस्थामा सोलोमन एडेयिन्का इलेसान्मीको प्रहार सनमले गोल लाइनबाट क्लियर गरे।

यससँगै पहिलो हाफमा १–१ को बराबरीमा नै सकियो। ५४औं मिनेटमा टिमोथी चिमेरीले गोल गर्दै एनआरटीलाई अग्रता दिलाए। ६६औं मिनेटमा म्याथ्यु बाबाटुन्डे नजिक दूरीबाट गोल गर्न चुके। उनको फितलो प्रहार एनआरटीका गोलकिपर विशालले सहजै नियन्त्रणमा लिए। दुई मिनेटपछि नै चित्लाङका सोलोमोनले पनि अवसर सदुयोग गर्न सकेनन्। नजिकै दूरीबाट उनको हेडर प्रहार दोस्रो बार हुँदै बाहिरियो। ७०औं मिनेटमा सोलोमनकै हेडर एनआरटीका गोलकिपर विशालले सहजै नियन्त्रणमा राखे। ६ मिनेटपछि चित्लाङका म्याथ्युले १९ यार्डबाट गरेको फ्रिकिक पोस्टको दिशामा रहेन। इन्जुरी समयमा एनआरटीका सरोज तामाङले हानेको प्रहार बार माथिबाट बाहिरियो। यसपछि केही अवसर सिर्जना भए पनि गोल निस्किए र एनआरटीले जित निकाल्यो।

त्यसअघि भएको खेलमा आर्मीले पुछारको नव जनजागृति सहजै हरायो। कप्तान जर्जप्रिन्स कार्कीले नवौं मिनेटमा अग्रता दिलाए। त्यो गोलसँगै पहिलो हाफमा आर्मी १–० ले अगाडि रह्यो। दोस्रो हाफमा आर्मीले दुई गोल थप्यो। नवयुगले ५४औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए। आर्मीको तेस्रो गोल कुनसाङले ७५औं मिनेटमा गोल गरेपछि विभागीय टोली खेल आफ्नो नियन्त्रणमा राख्यो। जारी लिगमा सबैभन्दा खराब प्रदर्शन गरेको नव जनजागृतिको लगातार आठौं हार हो। जन जागृति लिगमा अंकविहीन छ। आगामी फागुन २१ गते हुने आम निर्वाचनका कारण अब एक हप्तासम्म राष्ट्रिय लिग हुने छैन। दिनको अन्तिम खेलमा प्लानिङ ब्वाइज युनाइटेड र मनाङ मस्र्याङ्दी क्लबबीच खेल भइरहेको छ। यसपछि एक हप्ता राष्ट्रिय लिगमा विश्राम हुनेछ। विश्रामअघि आर्मी र एनआरटीले सुखद नतिजा आत्मसात् गर्‍यो।

प्रकाशित: १८ फाल्गुन २०८२ ०६:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App