पाकिस्तान क्रिकेट टोलीमा व्यापक परिवर्तन गरिएपछि पूर्वकप्तान साहिद अफ्रिदीले चयन समितिबाट भएको अहिलेसम्मकै सबैभन्दा स्तब्ध पार्ने निर्णय भन्दै प्रतिक्रिया दिएका छन्।
इङ्ल्यान्डविरुद्ध टेस्ट शृंखलाकै बिचमा पाकिस्तानी क्रिकेट टोलीमा परिवर्तन गरिएपछि अफ्रिदीले असन्तुष्टि व्यक्त गरेका हुन्। इङ्ल्यान्डविरुद्ध पहिलो दुई टेस्टमा फराकिलो हार बेहोरेको पाकिस्तानले तेस्रो तथा अन्तिम टेस्टअघि टोलीमा ठूलो फेरबदल गरेको हो।
सात खेलाडीलाई पाकिस्तानी टोलीबाट हटाएको छ। पाँच जना नयाँ तथा टेस्टमा डेब्यु गर्न बाँकी खेलाडीलाई टोलीमा बोलाउने निर्णयले सबैलाई अचम्मित पारेको छ। यससँगै मुख्य प्रशिक्षक सरफराज अहमद र उनका सहायक उमर गुललाई पनि जिम्मेवारीबाट हटाइएको छ। उनीहरूको स्थानमा पाकिस्तानको सीमित ओभरको टोलीका प्रशिक्षक माइक हसन र अस्ट्रेलियाका तीव्र गतिका पूर्वबलर एस्ले नफ्केलाई राखिएको छ। पाकिस्तान र इङ्ल्यान्डबिचको तेस्रो तथा अन्तिम टेस्ट बुधबारदेखि बर्मिङ्घमस्थित एजबास्टनमा सुरु हुँदै छ।
टोलीमा व्यापक परिवर्तनप्रति असन्तुष्टि जनाउँदै अफ्रिदीले सामाजिक सञ्जालमा उक्त निर्णयमाथि प्रश्न उठाएका छन्। ‘यो निर्णयको तर्क वा कारण के हो भन्नेमा म निश्चित छैन,’ अफ्रिदीले भने, ‘प्रतिस्थापन गरिएका खेलाडीहरू पनि अर्थपूर्ण देखिँदैनन्।
इङ्ल्यान्डमा हुने टेस्ट खेलका लागि टी ट्वान्टीका खेलाडीलाई समावेश गरिएको छ ?’ उनले प्रशिक्षकलाई हटाइएकोमा पनि प्रश्न उठाए। ‘यो कस्तो सोच र दृष्टिकोण हो ? पाँच टेस्टपछि प्रशिक्षकलाई किन हटाइयो ?’ अफ्रिदीले पाकिस्तान क्रिकेटको चयन समितिमाथि थप कडा टिप्पणी गर्दै भने, ‘धेरै अनुभवी चयनकर्ता रहेको चयन समितिबाट यो अहिलेसम्मकै सबैभन्दा स्तब्ध पार्ने निर्णय हो।’ टोलीबाट हटाइएका सातमध्ये मोहम्मद रिजवान, इमाम उल हक, सलमान अली आगा, अली उस्मान र खुर्राम शहजादले इङ्ल्यान्डविरुद्ध जारी शृंखलामा खेलिसकेका छन्।
आमिर जमाल र मोहम्मद आविस जाफर भने शृंखलामा एक खेल पनि नखेली स्वदेश फर्काइएका छन्। पाकिस्तानले कुल सात खेलाडीलाई टोलीमा बोलाएको छ। ब्याटर साइम अयुब र अब्दुल्लाह फजलले यसअघि टेस्ट क्रिकेट खेलिसकेका छन्। उनीहरूसँगै पाँच जना नयाँ खेलाडीलाई टोलीमा समावेश गरिएको छ।
स्पिन बलिङ अलराउन्डर अराफात मिन्हास, बायाँहाते तीव्र गतिका बलर मोहम्मद इमरान जुनियर, विकेटकिपर सइद बैग तथा अलराउन्डर मोहम्मद इमरान र रजाउल्लाहले पनि टोलीमा स्थान बनाएका छन्। पाकिस्तानका पूर्वकप्तान तथा पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) का पूर्वअध्यक्ष रमिज राजाले पनि टोलीमा गरिएको परिवर्तनप्रति आश्चर्य व्यक्त गरे। आफूले यो निर्णयलाई सही ठहर्याउने प्रयास गरिरहेको भए पनि स्वीकार गर्न नसकेको उनको भनाइ छ।
पाकिस्तानको इङ्ल्यान्ड भ्रमण मैदानभित्रको प्रदर्शनका कारण मात्र नभई मैदानबाहिरका घटनाका कारण पनि विवादमा छ। पाकिस्तानी टोलीले यसै साता क्लारेन्स हाउसमा बेलायतका राजा चाल्र्स तृतीयसँग भेट गर्ने कार्यक्रम तय भएको छ। इङ्ल्यान्डविरुद्ध शृंखला सुरु हुनुअघि नै तय गरिएको उक्त औपचारिक कार्यक्रम शृंखला विवादास्पद अवस्थामा पुगे पनि यथावत् रहने भएको छ।
दोस्रो टेस्टका क्रममा पिसिबीले खेल नै बिचमै रोक्ने र इङ्ल्यान्ड भ्रमण रद्द गर्ने चेतावनी दिएपछि दुई देशबिचको शृंखला थप विवादमा परेको थियो। दोस्रो टेस्टको पहिलो दिन लन्चसम्म पुग्दा पिसिबीले खेल र भ्रमणको बाँकी कार्यक्रम रद्द गर्ने चेतावनी दिएको थियो। पाकिस्तानका पूर्वकप्तान तथा पूर्वप्रधानमन्त्री इमरान खानका छोराहरूसँग गरेको अन्तर्वार्ता एक सञ्चारमाध्यमले प्रसारण गरेपछि पिसिबी असन्तुष्ट बनेको थियो।
इमरान खान भ्रष्टाचारको आरोपमा पछिल्लो तीन वर्षदेखि जेलमा छन्। उनले आफूविरुद्ध लगाइएको आरोप अस्वीकार गर्दै आएका छन्। पिसिबीको चेतावनीका बावजुद पाकिस्तानले अन्ततः दोस्रो टेस्ट पूरा गरेको थियो।
कप्तान बाबर आजम र मुख्य प्रशिक्षक सरफराज अहमद दुवैले खेल बहिष्कार गर्ने कुनै योजनाबारे आफूहरूलाई जानकारी नभएको बताएका थिए। तर, इङल्यान्डसँग शृंखलामा पाकिस्तानले लगातार कमजोर प्रदर्शन गरिरहेको अवस्थामा टोली, प्रशिक्षक र व्यवस्थापनमा गरिएको अचानक व्यापक परिवर्तनले पाकिस्तान क्रिकेटभित्रको अस्थिरता र दबाबलाई थप उजागर गरेको छ।
प्रकाशित: १७ भाद्र २०८३ ०७:०२ बुधबार





