१ वैशाख २०८३ मंगलबार
image/svg+xml
खेल

स्वर्ण पदकबाट फेरि चुकिन् एरिका

विश्व नम्बर एक बन्ने लक्ष्यमा रहेकी नेपालकी एरिका गुरुङ चीनमा भएको कराते वान प्रिमियर लिगको फाइनलमा पराजित भएकी छन् ।

चीनको लेशान शहरमा भएको वान प्रिमियर लिगमा कुमिते महिला ६८ केजी तौलसमूहमा आइतबार सम्पन्न फाइनलमा एरिका कजाखस्तानकी सोफिया बेरुलस्तेभासँग २–१ अंकले पराजित भएकी हुन् । विश्व वरीयतामा सोफिया नम्बर एक र एरिका ११औं स्थानमा छन् । फाइनलमा एरिकाले धेरै चुनौती दिए पनि सफलता पाउन सकिनन् । पाँच सेकेन्ड बाँकी छँदा उनका प्रशिक्षक कुशल श्रेष्ठले इपोन (३ अंक) को अपील गरेका थिए । तर, भिडियो रिप्लेमा त्यसले मान्यता पाएन । एरिका र सोफिया बीच ठूला प्रतिस्पर्धामा चौथोपल्ट भेट भएको हो । त्यसमध्ये तीन पटक सोफियाले र एक पटक एरिकाले जितेका छन् ।  

चीनमा सन् २०२३ मा भएको एसियन गेम्समा पनि एरिका नेपाललाई पहिलो स्वर्ण पदक दिलाउने लक्ष्यनजिक थिइन् । त्यतिबेला पनि सोफियाले नै एरिकाको त्यो लक्ष्य असफल बनाइन् । तर, सन् २०२४ मा भएको २०औं एसियन च्याम्पियनसिपमा सोफियालाई हराउँदै फाइनलमा पुगेकी थिइन् । तर, त्यसमा उनी भियतानमकी गुएन थीसँग फाइनलमा पराजित हुन पुगिन् ।  टर्कीमा यसै वर्ष कराते वान प्रिमियर लिगको फाइनलमा पनि सोफियासँग एरिका पराजित भएकी थिइन् । जुन हारको शृंखला चीनमा पनि दोहोरिएको छ । विश्व नम्बर एक बन्ने लक्ष्यमा रहेकी एरिकाले चीनमा चार जना प्रतिद्वन्द्वीलाई हराउँदै फाइनलमा पुगेकी हुन् ।

एरिकाले सेमिफाइनलमा इटालीकी फेराकुटी क्लियोलाई ८–३ स्कोरले हराउँदै स्वर्ण पदकका लागि यात्रा तय गरेकी थिइन् । विश्व नम्बर एक बन्ने लक्ष्यसहित एरिकाले विश्व कराते महासंघ ९डब्लुकेएफ० का प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेकी छिन् । साथै एरिकाले वरीयता प्राप्त हुने प्रतियोगितामा नेपाललाई पदक दिलाउँदै आएकी छन् । एरिकाले क्वार्टरफाइनलमा स्लोभेनियाकी जिब्रेत जाला मारियालाई ८–० को सहजनतिजामा हराएकी थिइन् । समूह चरणमा तीन प्रतिद्वन्द्वीलाई हराउँदै उनी क्वार्टरफाइनलमा पुगेकी हुन् । उनले समूहमा मोन्टेनेग्रोकी योभाना डामयानोभिचलाई २–० ले हराइन् । त्यसपछि एरिका डब्लुएफको भन्डामा खेलेकी मारिया मालाखाभालाई हराउन सफल भइन् ।

निर्धारित समयको खेल १–१ को बराबरी भएपछि एरिकाले सेन्सुमा सफलता पाइन् । तेस्रो खेलमा उनले जर्मनीकी निर जोहानालाई २–१ स्कोरले हराइन् । चीनमा एरिकाको तेस्रो ऐतिहासिक पदक ९तीन रजत० हो । यसअघि चीनमा उनले एसियन गेम्स र एसियन च्याम्पियनसिपमा रजत पदक जितेकी छन् । उनले चीनमा गत एसियन गेम्स र २०औं एसियन च्याम्पियनसिपमा नेपालका लागि ऐतिहासिक रजत पदक जितेकी छन् । एरिकाले कराते वान प्रिमियर लिगमा रजत र कांस्य पदक जितेकी छन् । मलेसियामा सन् २०२५ मा कराते वान सिरिज ’ए’ मा पदक जितेकी एरिकाको करियरमा अर्को स्वर्ण जित्ने लक्ष्य भने यसपटक पूरा भएन ।

प्रकाशित: २९ चैत्र २०८२ १९:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App