२ जेष्ठ २०८३ शनिबार
image/svg+xml
समाज

कोशी सरकारमार्फत् समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत फिर्ता सुरु

समस्याग्रस्त बनेको इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका साना बचतकर्ताहरूको बचत कोशी प्रदेश सरकारले फिर्ता दिन थालेको छ । सोमबार कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले पत्रकार सम्मेलन गरी साना बचतकर्ताको बचत रकम फिर्ता दिन थालिएको जानकारी दिएको हो ।  

कोशी प्रदेश सरकारले गठन गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयमार्फत २० हजार रुपैयाँ भन्दा कम बचत भएका बचतकर्ताहरूको रकम पहिलो चरणमा फिर्ता दिन थालिएको मन्त्रालयका उपसचिव पदमबहादुर ठकुराठीले जानकारी दिए । उनले चैत २९ गते सम्म ऋण असुलीबाट १ करोड ३८ लाख ४४ हजार रुपैयाँ बैंकमा जम्मा भएको छ । बचत मिलानबाट १ हरोड ९० लाख ४ हजार रुपैयाँ बचत फिर्ता भएको छ । जुन रकम मध्येबाट पहिलो चरणमा २० हजार रुपैयाँ सम्मको बचत फिर्ता गर्दा २८ लाख ५७ हजार ७ सय ८१ रुपैयाँ लाग्ने उनले जानकारी दिए । 

पहिलो चरणमा बचत फिर्ता गरिने बचतकर्ताहरूको बैंक खातामा सोमबार नै रकम जम्मा गर्न चेकसमेत तयार पारिसकेको ठाकुराठीले बताए । बचत मिलानबाट थप २१ जनाले पहिलै बचत फिर्ता पाइसकेको उनले दाबी गरे । उनले भने ‘पहिलो चरणमा २० हजार रुपैयाँ सम्म बचत हुनेहरूको बचत रकम फिर्ता हुँदैछ , अर्को चरणमा एक लाख रुपैयाँ र त्यो भन्दा माथिको बचत फिर्ता गर्ने योजना बनाइएको छ ।’  

कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरीले  संघीय सरकारले आफ्नो एक सय दिने कार्ययोजनामा सहकारीको बचत फिर्ता गर्ने कार्यसूचि बनाए अनुसार कोशी प्रदेशबाट उक्त योजनाको कार्यान्वयन सुरु गरिएको बताए । उनले अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरूले २४ करोड ८८ लाख रुपैयाँ बचत फिर्ताको माग गरेको र सहकारीबाट लगानी गरिएको ऋण पनि सोही अनुसार भएकाले ऋणीबाट ऋण असुल गरी बचतकर्ताहरूलाई फिर्ता गर्न प्रदेश सरकारले काम गरिरहेको जानकारी दिए । 

उनले कोशी प्रदेश सरकारले अम्बेपछि विराटनगरको माछापुच्छ्रे र धरणीधर सहकारीको विषयमा पनि छानविन सुरु गर्ने बताए । यस्तै अन्य पालिका स्तरिय समस्याग्रस्त सहकारीहरूका विषयमा पनि छानविन गरी बचत फिर्ताका लागि पालिकाहरूसँग सहकार्यगर्ने मन्सुरीले स्पष्ट पारे । कोशी अम्बे सहकारीका अध्यक्ष फणिन्द्र मगरले मात्रै २० करोड रुपैयाँ भन्दा बढी ऋण लगेको देखिएको मन्त्रालयले जनाएको छ ।  

यो सहकारीलाई कोशी प्रदेश सरकारले २०८१ साल पुस २३ गते समस्याग्रस्त घोषणा गरेको थियो । त्यसअघि नै पुस १८ गते वरिष्ठ अधिवक्ता भरतबहादुर थापाको संयोजकत्वमा समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरिएको थियो । समितिले सहकारीको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै सम्पत्ति व्यवस्थापन, ऋण असुली र धितो लिलामको प्रक्रिया अघि बढाएको थियो । छानबिनका क्रममा सहकारीका अध्यक्ष फणिन्द्र मगरसहितका सञ्चालक र कर्मचारीले करिब ९ हजार बचतकर्ताबाट संकलित रकम अपचलन गरेको पत्ता लागेको थियो ।

ठगी आरोपमा पुर्पक्षका लागि थुनामा रहेका मगर भने सुनसरीको झुम्का कारागारबाट गत भदौ २४ गते जेनजी आन्दोलनको मौका छोपेर फरार भएका थिए । उनी हालसम्म सम्पर्कविहीन छन् । इटहरीमा केन्द्रीय कार्यालय रहेको अम्बे कोशी सहकारीले झापा, मोरङ लगायतका जिल्लामा पनि कार्यालय खोलेर कारोबार गर्दै आएको थियो ।

प्रकाशित: ३० चैत्र २०८२ १५:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App