२ वैशाख २०८३ बुधबार
image/svg+xml
समाज

स्याउ बगैँचामा आगलागी: ९ लाखको क्षति

जुम्लाको गुठिचौर गाउँपालिका-३ स्थित धापाखेतमा रहेको स्याउ बगैँचामा आगलागी हुँदा तीन सय स्याउका बिरुवा नष्ट भएका छन्।

‘अर्गानिक एप्पल एण्ड फर्म’ अन्तर्गत रहेको उक्त बगैँचा गुठिचौर गाउँपालिका-५ कुम्डी गाउँका हरिबहादुर भण्डारीको हो। भण्डारी गुठिचौर गाउँपालिकाका पूर्व गाउँपालिका अध्यक्षसमेत हुन्। स्याउ फुलेर सेताम्य भइरहेको बगैँचामा यस वर्ष राम्रो उत्पादन हुने अपेक्षा गरिएको थियो।

तर शुक्रबार दिउँसो करिब १२ बजेतिर लागेको आगोले फल दिन थालेका बिरुवाहरू पूर्ण रूपमा नष्ट गरेको भण्डारीले बताए। आगलागीबाट लाखौँ रुपैयाँ बराबरको क्षति भएको उनको भनाइ छ। ‘आगोले फल दिने तीन सय स्याउका बिरुवा पूर्ण रूपमा नष्ट भए,’ उनले भने, ‘प्रारम्भिक अनुमान अनुसार करिब ९ लाख रुपैयाँ बराबरको क्षति भएको छ।’ 

आगो कसरी लाग्यो भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ। घटनापछि धलमुडी प्रहरी चौकी इन्चार्ज ताराबहादुर डाँगीको टोली घटनास्थलमा पुगेको थियो। प्रहरी र स्थानीयको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो। बगैँचामा धेरै मात्रामा रहेको सुख्खा घाँसका कारण आगो नियन्त्रणमा लिन कठिन भएको बताइएको छ। करिब दुई हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको उक्त बगैँचामा आगलागीबाट ठूलो क्षति पुगेको हो। 

‘वर्षौँदेखिको मेहनत आगोले सकिदियो,’ भण्डारीले भने, ‘आम्दानी हुने बेलामा विपत्ति आइपुग्यो।’ झन्डै ६१ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको बगैँचामा कुल १ हजार ६ सय बिरुवा रहेका छन्, जसमा ९ सय स्थानीय जात र ७ सय फुजी जातका स्याउ छन्। 

२०६९ सालमै घेराबन्दी र पूर्वाधार निर्माणमा १२ लाखभन्दा बढी खर्च गरिएको यस बगैँचामा हालसम्म करिब ५० लाख रुपैयाँ लगानी भइसकेको छ। अघिल्लो वर्ष ७५ हजार रुपैयाँ आम्दानी भएको बगैँचाबाट गत वर्ष करिब डेढ लाख रुपैयाँ आम्दानी भएको थियो। यस वर्ष भने ८ देखि १० लाख रुपैयाँसम्म आम्दानी हुने अनुमान गरिएको थियो। तर आगलागीले उक्त सम्भावना समाप्त भएको छ।

यता कृषि विकास कार्यालय, जुम्लाका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा १७ हजार ५ सय ५८.७५ मेट्रिक टन स्याउ उत्पादन भएको छ। यसमध्ये ५ हजार ५ सय ९१ मेट्रिक टन स्याउ जिल्ला बाहिर निर्यात भई ४१ करोड २९ लाख ८९ हजार २ सय ७० रुपैयाँ आम्दानी भएको कार्यालय प्रमुख रामभक्त अधिकारीले जानकारी दिए। 

गत आर्थिक वर्ष २०८१/०८२ मा १९ हजार ८ सय ४० मेट्रिक टन उत्पादन भई ९ हजार ३ सय ३१ मेट्रिक टन निर्यात हुँदा ६१ करोड २ लाख ४७ हजार ४ सय रुपैयाँ आम्दानी भएको थियो। त्यसैगरी आर्थिक वर्ष २०८०/०८१ मा २० हजार ५ सय ११.४६ मेट्रिक टन स्याउ उत्पादन भई हालसम्मकै उच्च ६६ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो। यस वर्ष स्याउ खेती ४ हजार ३ सय २५ हेक्टरबाट ४ हजार ४ सय ४५ हेक्टर पुगेको छ। 

फल दिने क्षेत्र २ हजार हेक्टरबाट २ हजार १ सय २५ हेक्टरमा विस्तार भएको छ। घरधुरी सङ्ख्यामा पनि वृद्धि भएको छ, १९ हजार १ सय २५ बाट १९ हजार १ सय ५० पुगेको छ। बिक्री-वितरण र व्यापारमा संलग्न किसानको सङ्ख्या पनि बढ्दो छ। जुम्लाको स्याउ सुर्खेत हुँदै काठमाडौँ, पोखरा, बुटवल, चितवन, धरान, महेन्द्रनगर र धनगढीसम्म पुग्ने गरेको छ।

प्रकाशित: ३० चैत्र २०८२ १४:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App