२ वैशाख २०८३ बुधबार
image/svg+xml
राजनीति

नेपाल शान्ति र उन्नतिको भूमि बनोस्: पूर्वराजा

पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना व्यक्त गर्दै नेपाल शान्ति र उन्नतिको भूमि बनोस् भन्ने सदिच्छा व्यक्त गरेका छन्।

नयाँ वर्षको पूर्वसन्ध्यामा एक भिडियो शुभकामना जारी गर्दै उनले देशलाई आफ्नै मौलिक, सनातन र पहिचानबाट परिचालित एवं प्रतिष्ठित बनाउनुपर्नेमा जोड दिए।

उनले भनेका छन्, ‘नेपाल शान्तिको भूमि बनोस्, उन्नतिको मुलुक बनोस् अनि आफ्नै मौलिक, सनातन र पहिचानबाट परिचालित एवं प्रतिष्ठित बनोस्।’

पूर्वराजा शाहले सम्पूर्ण नेपालीले न्याय, शान्ति र सुख पाऊन् भन्ने आफ्नो सदीक्षा रहेको समेत उल्लेख गरेका छन्। देशको स्वधर्म, संस्कृति र मौलिक कलाकृतिको संवर्द्धन भए मात्र राष्ट्रको गौरव बढ्ने उनको भनाइ छ।

राजनीतिमा निषेध, फुट, द्वन्द्व र विद्रोहले सबैलाई कमजोर बनाउने भन्दै उनले परस्परको राग, द्वेष र प्रतिशोध त्याग्न आग्रह गरेका छन्।

जनचाहनालाई मनन गर्दै संवाद, सहमति र सहकार्यका माध्यमबाट सबै पक्षका मागलाई सम्बोधन गरी संवैधानिक समाधान खोज्न दृढ सङ्कल्पित हुनुपर्ने पूर्वराजाको सुझाव छ।

विगतका वर्षहरूमा निरन्तर अभ्यास र विकल्पको मात्र खोजी गर्दा देश प्रयोगशालामा सीमित भएको उनको टिप्पणी छ। विधि, पद्धति र व्यक्ति बदल्ने कोरा परिवर्तनले मात्र समग्र स्थिति नसुध्रिएको भन्दै उनले दलहरूको खिचातानीले राष्ट्रको श्रीवृद्धि पछाडि परेको बताए।

प्रकाशित: ३० चैत्र २०८२ १७:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App