सुदूरपश्चिम प्रदेशकै रेफरल अस्पतालको रूपमा रहेको सेती प्रादेशिक अस्पतालका चिकित्सक अस्पतालको कार्यालय समयमै निजी अस्पताल र क्लिनिकमा बस्ने गरेका छन्।
कार्यालय समयमा पनि चिकित्सक अस्पतालमा नबस्दा सर्वसाधारण बिरामीले सास्ती खेप्नुपरेको छ। चिकित्सक अस्पतालको ड्युटीमा पनि नबस्ने एकातिर समस्या छ भने सेती अस्पतालमै गएका बिरामीलाई समेत निजी क्लिनिक र अस्पताल पठाउने गिरोह पनि सक्रिय हुँदा आर्थिक अवस्था कमजोर भएर उपचार गर्न सेती अस्पताल पुग्ने बिरामी मार्कामा पर्ने गरेका छन्।
‘बुबाको पत्थरीको उपचार गर्न ल्याएको थिए, यहाँ मंसिर महिना मात्र शल्यक्रियाको पालो आउँछ, छिटो गर्ने बाहिर लैजानु भन्यो,’सेती अस्पतालमा बुबालाई उपचार गर्न आएका हरि साउँदले भने।
धनगढीमा च्याउ जस्तै खुलेका निजी अस्पताल र क्लिनिकमा सेती प्रादेशिक अस्पतालका अधिकांश चिकित्सक काम गर्ने गरेका छन्। निजी अस्पताल र क्लिनिकमा काम गर्ने हुँदा सेती प्रादेशिक अस्पतालमा पुग्ने बिरामीको उपचारमा उनीहरूको बेवास्ता देखिने गरेको स्थानीय बताउँछन्।
‘हामी जस्ता पैसो नहुनेलाई बिरामीको उपचार गर्दा निजी अस्पतालमा धेरै महँगो पर्छ, चिकित्सकका कारण पैसा नहुनेहरू पनि निजी अस्पतालमा उपचार गर्न जान बाध्य छन्,’स्थानीय शेरबहादुर चौधरी भन्छन्।
सेती प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सक कार्यालय समयमा निजी अस्पताल र निजी क्लिनिकमा बस्ने गरेकोमा सर्वसाधारणले लिखित रूपमै प्रधानमन्त्री कार्यालयको हेलो सरकार, मुख्यमन्त्रीको कार्यालयमा र क्यु आर मार्फत सेती प्रादेशिक अस्पतालमा पटक पटक गुनासो पठाउने गरेका छन्।
प्रधानमन्त्री कार्यालय बाट उक्त गुनासोको सुनवाइ गरेर प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, सेती प्रादेशिक अस्पताललाई धेरै पटक परिपत्र पठाएर जवाफ समेत मागिसकेको छ।
सर्वसाधारणले प्रधानमन्त्री कार्यालयको हेलो सरकारमा, मुख्यमन्त्रीको कार्यालयमा, सेती अस्पतालकै क्युआरमा गुनासो गर्ने गरेको अस्पताल प्रशासनले जनाएको छ।
गुनासोको आधारमा यस अघि पनि कार्यालय समयमा नबस्ने चिकित्सकलाई लिखित रूपमा स्पष्टीकरण सोधिएको सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले बताएका छन्।
लिखित स्पष्टीकरण सोधेर प्रधानमन्त्री कार्यालय लगायत गुनासोको बारेमा परिपत्र आएको ठाउँमा जवाफ पठाइने गरिएको उनको भनाई छ।
सेती प्रादेशिक अस्पतालका प्राय सबै फाँटका चिकित्सक र कर्मचारीका बारेमा गुनासो आउने गरेको उनले बताए।
अस्पतालमा नबस्ने चिकित्सकलाई अस्पतालको कडा कदम
सर्वसाधारणले सरकारी अस्पतालमा चिकित्सक नहुँदा उपचार नपाउने गरेको गुनासो बढेको बढेई छ। सर्वसाधारणले चिकित्सकको नामै किटान गरेर लिखित रूपमा गुनासो गर्ने गरेका छन्।
केही चिकित्सकहरूको बारेमा पटक पटक गुनासो आउने गरेको र लिखित स्पष्टीकरण समेत सोधिएको मे.सु. पाण्डेयको भनाई छ। पटक पटक केही चिकित्सकको बारेमा धेरै गुनासो आउन थालेपछि प्रशासनले कडा कारबाही गर्न चिकित्सकहरूलाई सूचना जारी गरिएको उनले बताए।
‘कार्यालय समयमै अस्पतालमा नबसेर निजी क्लिनिकमा बस्ने चिकित्सकलाई अस्पताल प्रशासनले कारबाही गर्ने छ,’उनले भने। कार्यालय समयभित्र निजी क्लिनिक वा अन्य स्वास्थ्य संस्थामा काम गर्न पूर्ण रोक लगाउँदै उल्लंघन गर्ने चिकित्सकमाथि कानुनी तथा सेवा–शर्तअनुसार कारबाही गरिने उनको भनाई छ।
यसैगरी नेपाल सरकारको छात्रवृत्ति कोटामा पढेर दुई वर्ष सरकारी अस्पतालमा काम गर्नुपर्ने चिकित्सकले निजी स्वास्थ्य संस्थामा काम गर्न पाउँदैनन्। तर छात्रवृत्ति कोटामा अध्ययन गरेर दुई वर्षका लागी काम गर्न सेती प्रादेशिक अस्पतालमा आएका चिकित्सक समेत निजीमा काम गर्ने गरेका छन्।
मेडिकल सुपरिटेन्डेन्ट डा. पाण्डेले अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई मंगलबार सूचना जारी गर्दै केही चिकित्सक कार्यालय समयमै बाहिरका निजी क्लिनिक तथा स्वास्थ्य संस्थामा सेवा दिने गरेको गुनासो प्राप्त भएकाले कारबाही गरिने जनाएका हुन्।
सरकारी अस्पतालको सेवा प्रभावकारी, गुणस्तरीय र सेवाग्राहीमैत्री बनाउन सबै चिकित्सकले कार्यालय समयभरि आफ्नै कार्यस्थलमा उपस्थित भई तोकिएको जिम्मेवारी पूरा गर्नुपर्ने उनले बताएका छन्।
चिकित्सकले बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म अस्पतालमा बस्नु पर्ने प्रावधान भएकाले लामो समय चिकित्सक बस्ने गरेका छैनन्।
कार्यालय समयभित्र कुनै चिकित्सक निजी क्लिनिक वा अन्य स्वास्थ्य संस्थामा कार्यरत रहेको पाइए प्रचलित कानुन तथा सेवा–सर्तबमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइने डा. पाण्डेयले भनेका छन्।
सरकारी सेवाप्रतिको जबाफदेहिता बढाउन र बिरामीलाई सहज रूपमा उपचार उपलब्ध गराउने उद्देश्यले उक्त व्यवस्था कडाइका साथ लागू गरिने उनको भनाई छ।
मेसु डा. पाण्डेयले सेती अस्पतालमा कार्यरत चिकित्सकलाई कार्यालय समयमा अस्पतालमै बस्न लगाउन सकेमा सर्वसाधारणलाई उपचारमा ठुलो राहत मिल्ने छ।
प्रकाशित: २० श्रावण २०८३ १५:१३ बुधबार





-600x400.jpg)