कर्णाली प्रदेशका सुर्खेतसहित विभिन्न जिल्लामा खाना पकाउने एलपी ग्यासको दुई महिनादेखि अभाव हुँदा जनजीवन प्रभावित बनेको छ।
ग्यास सिलिन्डर पाउन बिहानै २ बजेदेखि पसलअगाडि उपभोक्ताको लामो लाइन लाग्ने गरेको छ भने पालो कुर्दाकुर्दै पनि ग्यास नपाएपछि सर्वसाधारण, विद्यार्थी र व्यवसायी दिक्क भएका छन्।
वीरेन्द्रनगरका ग्यास डिलरहरूमा दैनिक सयौँ उपभोक्ताको भीड लाग्ने गरेको छ। पाँच दिनसम्म लगातार लाइनमा बस्दा पनि ग्यास नपाएको गुनासो विद्यार्थीहरूले गरेका छन्। ग्यास अभावका कारण दैनिक खाना पकाउनसमेत समस्या हुन थालेपछि उपभोक्तामा चिन्ता बढेको छ।
वीरेन्द्रनगरका स्थानीय अगुवा भीमप्रसाद शर्माका अनुसार वास्तविक अभावसँगै केही उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर घरमै भण्डारण गर्न थालेकाले समस्या झन् जटिल बनेको बताए। ग्यास नपाइने हो कि भन्ने त्रासले धेरैले दुई वा दुईभन्दा बढी सिलिन्डर घरमै राख्न थालेका उनको भनाई छ।
एलपी ग्यासको अभावले होटल तथा रेस्टुरेन्ट व्यवसायसमेत प्रभावित भएका छन्। व्यवसाय सञ्चालनका लागि दैनिक ठूलो परिमाणमा ग्यास आवश्यक पर्ने भए पनि पर्याप्त आपूर्ति नहुँदा कतिपय होटल बन्द हुने अवस्थामा पुगेका व्यवसायीले बताएका छन्।
होटल व्यवसायका लागि छुट्टै व्यवस्थापन नहुँदा समस्या थप गम्भीर बन्दै गएको उनीहरूको भनाइ छ । सरकारले निजी व्यवसायहरूका लागि छुट्टै ग्यास वितरणको व्यवस्थापन गर्नुपर्ने कि व्यवसायको नाममा कोटा दिनुपर्ने वीरेन्द्रनगरमा लामो समयदेखि होटल व्यवसाय गर्दै आएका समिर लामाले बताए।
बढ्दो भीडलाई व्यवस्थित बनाउन वीरेन्द्रनगरमा नागरिकताको आधारमा ग्यासको कुपन वितरण गरी पालोअनुसार सिलिन्डर उपलब्ध गराउने व्यवस्था गरिएको छ। वितरणलाई निष्पक्ष र व्यवस्थित बनाउन ग्यास डिलरमा नेपाल प्रहरीसमेत परिचालन गरिएको छ।
ग्यास अभाव र बजारमा देखिएको असहज अवस्थाप्रति कर्णाली प्रदेश सरकार पनि गम्भीर बनेको छ। मुख्यमन्त्री मंगलबहादुर शाहीले आफ्नो कार्यालयमा सुरक्षा निकाय, बजार अनुगमन टोली तथा सम्बन्धित निकायसँग बैठक गर्दै कृत्रिम अभाव सिर्जना गर्ने, आवश्यकताभन्दा बढी ग्यास भण्डारण गर्ने तथा बढी मूल्य असुल्ने गतिविधिप्रति कडा निगरानी गर्न निर्देशन दिएका छन्।
मुख्यमन्त्री शाहीले बजारमा एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सुरक्षा निकाय र बजार अनुगमन टोलीलाई तत्काल सक्रिय रूपमा परिचालन हुन निर्देशन दिँदै कृत्रिम अभाव सिर्जना गर्ने जो–कोहीमाथि कानुनअनुसार कारबाही गर्नुपर्ने बताएका छन्। साथै सर्वसाधारणलाई आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगरी संयमित रूपमा खरिद गर्न आग्रह गरेका छन्।
कर्णालीमा एलपी ग्यासको अभाव लम्बिँदै जाँदा दैनिक उपभोगदेखि होटल व्यवसायसम्म प्रभावित बनेका छन्। समयमै आपूर्ति सहज नभए जनजीवन अझ कष्टकर बन्ने भन्दै उपभोक्ताले सम्बन्धित निकायसँग तत्काल प्रभावकारी पहलको माग गरेका छन्।
ग्यास अभाव भए पनि सस्तोमा पाइने दाउराको मुख्य समेत आकासिएको छ। २ सय रुपैयाँ भारी पर्ने दाउरा ढाई सयदेखि तिन सयसम्म पुगेको छ।
प्रकाशित: २० श्रावण २०८३ १४:५८ बुधबार



-600x400.jpg)

