पूर्व सैनिक एवं सुरक्षा विश्लेषक डा प्रेमसिंह बस्न्यातले नेपाली सेनाको संस्थागत सम्मान, सैनिक मनोबल र नेतृत्वको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्।
बुधबार फेसबुकमा लामो स्टाटस लेख्दै उनले सेनाको अधिकृत र रास्वपा सांसद राजुनाथ पाण्डे बिचको घटनाले आफू मानसिक रूपमा निकै व्यथित भएको भन्दै ‘गए राति २ बजेपछि सुत्न सकिन,’ भन्दै नेपाली सेनाको प्रतिष्ठामाथि असर परेको बताएका छन्।
सांसद राजुनाथ पाण्डेसँग जोडिएको घटना सञ्जालमा आएसँगै उनले अब कुनै पनि नेताले आर्मीको ब्यारेक पुगेर मनलाग्दो आदेश दिन सक्ने गलत नजिर स्थापित भएको बताएका छन। उनले सैनिक नियम, सेनाको सुझाव तथा संस्थागत प्रक्रियालाई बेवास्ता गर्ने अवस्था सिर्जना भएको भन्दै चित्ता व्यक्त गरेका छन्।
वरिष्ठ सैनिक नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै उनले ‘वार कलेजसहित विभिन्न तालिम गरेका उच्च तहका अधिकारीहरूबाट अपेक्षित नेतृत्व देखिएन,’ भन्दै सेनाको मनोबल कमजोर भएको र यसले सैनिकहरूको आत्मविश्वासमा समेत नकारात्मक प्रभाव पार्न सक्ने अवस्था सिर्जना गरेको छ।
बस्न्यातले प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन शाह र राष्ट्रपति, जो नेपाली सेनाका सर्वोच्च कमाण्डर पनि हुन्, उनीहरूको भूमिकामाथि समेत प्रश्न उठाएका छन्। ‘रक्षामन्त्री किन मौन बस्नुभयो? राष्ट्रपतिका तर्फबाट पनि कुनै धारणा आएन,’ उनले सामाजिक सञ्जालबाट प्रश्न गरेका छन्।
अवकाशप्राप्त सैनिक नेतृत्वप्रति पनि उनले असन्तोष व्यक्त गर्दै नेपाल प्रहरीका पूर्वअधिकृतहरू संस्थागत हितका विषयमा एकजुट हुने गरेको उदाहरण दिँदै उनले आफ्ना अवकाशप्राप्त चारतारेहरूमा एकता र सेनाको पक्षमा बोल्ने साहस नभएको भन्दै दुःख व्यक्त गरेका छन्।
यद्यपि उनले सम्पूर्ण नेपाली सेनालाई दोष दिन नहुने भन्दै तल्लो तहका सैनिकहरूमा अझै पनि संस्थाप्रतिको समर्पण कायम रहेको बताएका छन्। ‘एउटा कम्पनी हवल्दार मेजर र बटालियन हवल्दार मेजरले पनि सेनाको मान–इज्जत जोगाउन ठूलो भूमिका खेल्न सक्छन्,’ उनले भनेका छन्।
अन्त्यमा बस्न्यातले आफु सैनिक इतिहास लेख्ने सिपाही भएको रकारबाही गरे भोग्न तयार भएको बताउँदै आफूले सेनाको संस्थागत प्रतिष्ठाको पक्षमा बोलिरहने बताएका छन्।
प्रकाशित: २० श्रावण २०८३ १४:३८ बुधबार





