पूर्वराजा ज्ञानेन्द्र शाहले जनचाहनालाई मनन गर्दै देशलाई केन्द्रमा राखेर अघि बढ्न सबै पक्षलाई आग्रह गरेका छन्।
नयाँ वर्ष २०८३ सालको अवसरमा भिडियो शुभकामना जारी गर्दै उनले संवाद र सहमतिका माध्यमबाट सबैका माग सम्बोधन गरी संवैधानिक समाधान खोज्न विलम्ब गर्न नहुनेमा जोड दिएका हुन्।
राजनीतिमा निषेध, फुट, द्वन्द्व र प्रतिशोधको कुनै स्थान हुन नहुने उनको भनाइ छ।
‘परस्परको राग, द्वेष, प्रतिशोध र निषेध राजनीतिमा हुनुहुँदैन,’ पूर्वराजा शाहले आफ्नो भनेका छन्, ‘जनचाहना समेतलाई मनन गरी देशलाई केन्द्रमा राखेर कदम बढाउन विलम्ब नगरौं।’
उनले सबै पक्षका मागलाई संवाद, सहमति र सहकार्यका माध्यमबाट सम्बोधन गरी संवैधानिक समाधान खोज्न दृढ सङ्कल्पित हुनुपर्ने बताए।
बितेका वर्षहरूमा निरन्तरको परीक्षणले देश प्रयोगशाला मात्र बनेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। राजनीति र राज्य पद्धतिमा धेरै हेरफेर भए पनि ती केवल कोरा परिवर्तन मात्रै साबित भएको उनको टिप्पणी छ।
‘विधि, पद्धति र व्यक्ति बदलेर मात्र समग्र स्थिति बन्ने रहेनछ भन्ने पाठ विगतले सिकाएको छ,’ उनले भनेका छन्, ‘दलदलको खलबलमा हामी धेरै दौडियौं, तर राष्ट्रको श्रीवृद्धिमा निकै पछाडि पर्यौं।’
राज्य सञ्चालन र राजनीतिमा पढेलेखेका, देश बुझेका र आधुनिक प्रविधि जानेका युवा पुस्ताको बढ्दो आकर्षणलाई भने पूर्वराजाले उत्साहको विषय मानेका छन्। यस्ता उत्साही पात्रहरूको आगमनले राष्ट्रलाई फलदायी बनाउन मद्दत पुग्ने उनको विश्वास छ।
प्रकाशित: ३० चैत्र २०८२ १७:०९ सोमबार





