नयाँवर्षको फेरोसँगै यतिबेला मुख्य पर्यटकीय क्षेत्र सहित आसपासका गन्तव्य आन्तरिक पाहुनाले भरिभराउ भएका छन्। पहाडी क्षेत्रदेखि हिमाली भेगका गन्तव्यमा पर्याप्त पाहुना रहेको त्यहाँका व्यावसायीले बताएका छन्।
पोखरा र आसपासका क्षेत्रका सबैजसो पर्यटकीय गन्तव्यमा आन्तरिक पाहुना भरिभराउ भएको स्थानीय व्यावसायीको भनाई छ। ग्रामीण क्षेत्रमा संचालित होमस्टेमा पनि पाहुनाको भीडभाड रहेको छ। यतिबेला विदेशी पर्यटकको घुमघामको सिजन परेको तथा त्यसैमाथि भारतीय र आन्तरिक पाहुना थपिँदा पर्यटकीय क्षेत्रका होटल पनि खचाखच भएका छन्।
स्थानीय व्यावसायीका अनुसार पोखरा सहर मात्र नभई अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गका होटल सहित हिमाली जिल्ला मनाङ र मुस्ताङमा पनि पाहुनाको उत्तिकै भीड रहेको छ। त्यस्तै घोरेपानी, घान्द्रुक सहित पोखरा आसपासका डाँडाकाँडामा पनि पर्याप्त पाहुना पुगेका छन। सरकारले हालै लागुगरेको दुइदिन बिदा सहित नयाँवर्षको बिदा पनि थपिँदा आन्तरिक पाहुनालाई घुमघाममा सहज भएको व्यावसायी बताउँछन्। यहिबेला विद्यालयमा पनि बिदा परेकोले परिवारसहित घुमघाममा जानेको संख्या बढेको उनीहरुको भनाई छ।
‘अहिले पोखरामा आन्तरिक पाहुनाको आगमन राम्रो छ। भारतीय पाहुना पनि योपटक पर्याप्त आएका छन्,’ होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी भन्छन्, ‘भारतीय पाहुनाले गर्दा यो पटक पर्यटकीय क्षेत्रमा भीडभाड छाएको छ।’
मध्यपूर्वका मुलुकमा देखिएको तनावका कारण तेश्रो मुलुकका विदेशीको आगमन केही प्रभावित भएपनि भारतीय र आन्तरिक पाहुनाले गर्दा पर्यटकीय क्षेत्र चलायमान बनेको उनले बताए। पाहुना पर्याप्त भित्रिएपछि अहिले पोखराका होटलको अकुपेन्सी पनि ९० प्रतिशत हाराहारीमा पुगेको उनले बताए।
‘यो बेला पदयाको सिजन पनि हो। पदयात्राका लागि आउने तेश्रो मुलुकका कतिपय पाहुना मध्यपूर्वको तनावले प्रभावित भए। तर, भारतीय र आन्तरिक पाहुनाले साथ दिँदा अहिले सबैतिरका पर्यटकीय गन्तव्यमा पाहुनाको भीड बढेको हो,’ उनले भने, ‘विद्यालयमा भएको लामो बिदाले परिवार सहित घुम्न आउने आन्तरिक पाहुना पर्याप्त भएका छन्। नजिकका गन्तव्यमा पारिवारिक घुमघाम बलियो देखिन्छ।’
पदयात्रा क्षेत्रमा घुमघाममा गएका आन्तरिक पाहुनाका अनुसार अहिले त्यस क्षेत्रमा पर्याप्त पाहुना छन्। अन्नपूर्ण फेरोेको मनाङ घुम्न पुगेका पोखराका उमेश रेग्मीका अनुसार अहिले फेरोको पदयात्रामा तेश्रो मुलुकका विदेशी र आन्तरिक पाहुनाको भीड छ। ‘तेश्रो मुलुकका विदेशीहरु हिडेरै पदयात्रामा आएका छन्। आन्तरिक पाहुना भने गाडीमा चढेर माथिल्लो मनाङसम्म जाने पर्याप्त छन्,’ रेग्मीले भने, ‘पदयात्रा क्षेत्रमा पाहुनाको भीडभाड भएपनि खान र बस्नको कुनै समस्या छैन। मौसमले साथ दिएकोले पनि घुमघाम सहज बन्यो।’
.jpg)
माछापुच्छ्रे आधारशिविर (एमबिसी)का व्यावसायी दिलीप गुरुङ पनि अहिले पदमार्गका होटलमा पाहुना पर्याप्त रहेको बताउँछन्। अन्नपूर्ण आधारशिविर (एबिसी) क्षेत्र अन्तर्गतका सबैजसो गन्तव्यमा अहिले सबैखाले पाहुनाको भीड रहको उनले बताए। एबबिसी पनि एबिसी पदमार्गमै पर्छ। ‘अहिले पाहुना अभाव छैन। पदमार्गका सबैजसो होटल पाहुनाले भरिएका छन्। तेश्रो मुलुकका विदेशी सहित भारतीय र आन्तरिक पाहुनाले गन्तव्यमा भीड छ,’ उनले भने, ‘पाहुना पर्याप्त भित्रिएपछि व्यावसाीलाई व्यस्त बनाएको छ।’
उनका अनुसार मध्यपूर्वको तनावका बाबजुत पनि यो पटक तेश्रो मुलुकका विदेशी पाहुना नेपाल आएका छन्। त्यही आगमनमा दक्षिण एशियाली मुलुकका पाहुनाको आगमन पनि उत्साहजनक रहेको छ। आन्तरिक पाहुना पनि थपिएपछि पर्यटकीय क्षेत्रमा भीड बढेको उनले बताए। ‘बासै नपाउने भन्ने अवस्था होईन। तर, पाहुना पर्याप्त छन्। अझै दुईसाताका लागि पाहुना अभाव हुने देखिएको छैन,’ उनले भने।
उनका अनुसार यो पटक मौसमले साथ दिएको र पदयात्रा क्षेत्रमा कुनै अप्रिय घटना नघटेकोले पनि पाहुनाको घुमघाममा आत्मविश्वास बढेको हो। ‘हिमपातको प्रभाव पनि रहेन। अहिले मौसमले पनि साथ दिएको हो। त्यसैले पाहुना पर्याप्त भित्रिएका पनि हुन,’ उनले भने, ‘एकसातादेखि अन्नपूर्ण क्षेत्रका अधिकांश गन्तव्य पाहुनाले भरिभराउ छन्।’
होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली पनि पोखरा क्षेत्रमा अहिले पर्याप्त पाहुना रहेको बताउँछन्। उनका अनुसार पोखराका होटलमा अहिले तेश्रो मुलुकका विदेशी पाहुना सहित भारतीय र आन्तरिक पाहुनाले भरिएका छन्।
‘योपटक भारतीय पाहुनाको आगमन राम्रो रह्यो। भारतीय पाहुना आउँदा व्यावसायीलाई साथ मिलेको छ,’ उनले भने, ‘पोखरासम्मको पहुँच सहज भएकोले पनि अहिले पाहुना आगमनमा सहज भएको छ।’
लगातारको सार्वजनिक बिदाले पनि पोखरामा आन्तरिक पाहुना तान्ने गरेको उनले बताए। ‘योपटक सोमबारको एकदिन बिदा मिलाउने अवस्था रहेमा लगातार चारदिन बिदा पाइने अवस्था हुँदा सहज भएको हो। पाहुनालाई घुमघाममा निस्कन बिदा हुुँदा सहज भएको हो,’ पराजुलीले भने, ‘सार्वजनिक बिदा थपिएपछि यात्रामा निस्कनेको संख्या बढेको छ। तर इन्धन महंगो भएको र अभाव हुने त्रास भने उत्तिकै छ। इन्धन सहज हुँदो हो त यो बेला झनै बढी संख्यामा पाहुना घुमघामाम निस्कन्थे।’
विद्यालयको बिदाले पनि परिवारसहित घुमघाममा निस्कन सहज भएको उनले बताए। पोखराका होटल र रेस्टुरेन्टलाई अहिले पाहुना अभाव नभएको पनि उनले बताए। ‘चहलपहल निकै नै बढेको छ। आन्तरिक पाहुनाले गर्दा पनि यत्तिको भीडभाड भएको हो। अहिले पोखरासम्मका आउजाउ पनि सहज बनेको छ,’ उनले भने।
प्रकाशित: ३० चैत्र २०८२ १४:३९ सोमबार





