२५ पुस २०८२ शुक्रबार
image/svg+xml
खेल

एरिका र अञ्जना सम्मानित

नेपाली खेलकुदमा एकपछि अर्को ऐतिहासिक नतिजा दिलाउँदै आएकी कराते खेलाडी एरिका गुरुङ र नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अञ्जना रानामगर सम्मानित भएका छन्।

भक्तपुरको मध्यपुरमा मंगलबार आयोजित एक कार्यक्रमबीच मध्यपुरको इनर ह्विल क्लबले १९औं एसियाली खेलकुदकी रजत विजेता एरिका र गोलकिपर अञ्जनालाई नगदसहित सम्मान गरेको हो। एरिकाले कराते वान प्रिमियर लिगमा कांस्य, थाइल्यान्ड ओपन र युएस ओपनमा स्वर्ण र एसियन च्याम्पियनसिपमा रजत जितेकी थिइन्।

प्रिमियर लिगमा कांस्यका साथै एसियन च्याम्पियनसिप र एसियन गेम्समा रजत पदक जित्ने उनी नेपाली कराते खेलाडी हुन्। उनै एरिका र अञ्जनालाई इनर ह्विल क्लबले २५ हजार रूपैयाँ नगदसहित सम्मान गरेको हो। नेपाली खेलकुदमा उल्लेखनीय योगदान गरेबापत उनीहरूलाई डा. सृष्टि उत्कृष्ट महिला खेलाडीको अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ।

क्लबकी संस्थापक तथा इनर ह्विल डिस्ट्रिक्ट ३५० की उपाध्यक्ष डा. सृष्टि श्रेष्ठ प्रजापतिले खेलाडीलाई सम्मान गरेकी थिइन्। सो अवसरमा उनले खेलकुदमा महिलाको सहभागिता र सफलतालाई सम्मान गर्न पाउनु आफ्नै लागि पनि गौरवको विषय रहेको बताइन्।

उनले आगामी वर्षहरूमा पनि यस्ता उदाहरणीय खेलाडीलाई सम्मानित गर्ने क्रमलाई अझ व्यापक बनाउँदै लाने प्रतिबद्धता जनाइन्। सम्मानित हुने दुवै खेलाडीले निजी स्तरबाट हुने यस्ता सम्मानले आफूहरूलाई देशका लागि अझ समर्पित भएर खेल्न ऊर्जा मिल्ने उल्लेख गर्दै आयोजकलाई धन्यवाद दिए।

प्रकाशित: ७ श्रावण २०८२ ०७:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App