१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

इटालीलाई हराउँदै इंग्ल्यान्ड ‘सुपर–८’ मा प्रवेश

इंग्ल्यान्ड आइसिसी टी-२० विश्वकप क्रिकेटको सुपर ८ मा प्रवेश गरेको छ ।  

भारतको कोलकात्तामा सोमबार भएको खेलमा इटलीलाई २४ रनले पराजित गर्दै इंग्ल्यान्डले सुपर ८ मा स्थान बनाएको हो । तीन खेलमा जित र एकमा हार भोगेको इंग्ल्यान्डको ६ अंक भएको छ । इंग्ल्यान्डसँगै समूह सीबाट वेस्ट इन्डिजले समान ६ अंकसहित यसअघि नै सुपर ८ मा स्थान बनाइसकेको छ । यहीँ समूहमा रहेको नेपाल तीन खेलमा अंकविहीन छ । समूह सीका अन्तिम खेलमा इटलीले वेस्ट इन्डिजसँग बिहीबार र नेपालले स्कटल्यान्डसँग मंगलबार प्रतिस्पर्धा गर्नेछन् । नेपालसँगै स्कटल्यान्ड र इटली समूह चरणबाटै बाहिरिएका छन् ।  

कोलकात्ताको इडन गार्डेन रंगशालामा इंग्ल्यान्डले दिएको २०३ रनको उच्च लक्ष्य पछ्याएको इटलीले निर्धारित ओभरमा सबै विकेट गुमाएर १७८ रनमात्र बनाउन सक्यो । बेन मानेन्टीले २५ बलमा ६० र ग्रान्ट स्टेवार्टले २३ बलमा ४५ रन बनाए पनि इटलीको हार भने टार्न सकेनन् । जस्टिन मोस्काले ३४ बलमा ४३ रन बनाए ।  

इटलीलाई कम योगफलमा समेट्न साम कुराम र जेमी ओभरटनले समान तीन तथा जोफ्रा आर्चरले २ विकेट लिए ।  

यसअघि पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ओभरमा ७ विकेट गुमाएर २०२ रनको योगफल बनाएको थियो । उसका लागि विल ज्याक्सले २२ बलमा नटआउट ५३ रन बनाए । टोम बान्टनले ३० र फिल सल्टले २८ रन बनाए ।  

इटलीका लागि ग्रान्ट स्टेवार्ट र क्रिसन कालुगामागेले समान २ विकेट लिए ।  

प्रकाशित: ४ फाल्गुन २०८२ १८:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App