नेपाल सोतोकान कराते संघको आयोजनामा आगामी शुक्रबारदेखि आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता भक्तपुरमा हुने भएको छ।
सोतोकान कराते संघको २८औं वार्षिकोत्सवको अवसरमा थिमी नगरपालिका–२ मा प्रतियोगिता हुने भएको हो। दुईदिने प्रतियोगितामा काता र कुमुतेतर्फ क्याडेट, जुनियर, सिनियर र भेट्रानतर्फ प्रतिस्पर्धा हुनेछ। कुल ४९ जिल्लाबाट पाँच सय खेलाडी छनोट गरी प्रतियोगितामा प्रतिस्पर्धा गर्न लागिएको नेपाल सोतोकान कराते संघका संस्थापक र अध्यक्ष हेमकुमार श्रेष्ठले पत्रकार सम्मेलनमा बताए।
कुमुतेको मिनी सब जुनियर (५–९ वर्ष) तर्फ १५ केजी, २० केजीमूनि, २५ वर्षमुनि, ३० वर्षमुनि, ३५ वर्षमुनि र ३३ वर्षमुनि प्रतिस्पर्धा हुनेछन्। यसै उमेरसमूहमा गल्र्स र ब्वाइजको एकल कातामा पनि प्रतिस्पर्धा हुनेछ।
सब जुनियर (१०–१२ वर्ष उमेरसमूह) काता र कुमुेतमा पनि खेल हुने भएको छ। यसै उमेरसमूहमा ब्वाइजमा खुलातर्फ कुमुते र एकल काता प्रतिस्पर्धा हुनेछन्। क्याडेट (१३–१५ वर्ष) कुमुतेतर्फ गल्र्समा पाँच तौलसमूह र ब्वाइजमा आठ तौलसमूहमा खेल हुनेछ। क्याडेटमा नै एकल काता (गर्ल्स र ब्वाइज) र खुला कुमुतेमा प्रतिस्पर्धा हुनेछन्। जुनियर कुमुते (१६–१८ वर्ष) तर्फ पुरुषमा ६ तौलसमूह र महिलामा पाँच तौलसमूहमा प्रतिस्पर्धा गराइनेछ। यसै उमेरसमूहमा पुरुषतर्फ खुला कुमुते हुने आयोजकले जनाएको छ। सिनियर कुमुते (१९–४० वर्ष) महिलामा ६ तौल र पुरुषमा सात तौलसमूहमा प्रतिस्पर्धा हुनेछ।
भेट्रान (४० वर्षमाथि) एकल काता र कुमुतेमा महिला र पुरुषमा प्रतिस्पर्धा हुनेछन्। महिला टिम खुला र पुरुष टिम कातामा खेल हुने आयोजकले जनाएको छ। प्रतियोगितामा शीर्ष तीन स्थानमा रहने टोलीले ट्रफी प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट फाइटरलाई पनि ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।
प्रकाशित: १५ माघ २०८२ ०८:३८ बिहीबार





