३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

रास्वपा लक्षित प्रचण्ड- पुरानो तपाईंहरू हो, सबैभन्दा नयाँ हामी हौं

नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एजेन्डाका हिसाबले कम्युनिष्ट पार्टी नै देशको सबैभन्दा नयाँ शक्ति भएको दाबी गरेका छन्।

शुक्रबार काठमाडौंमा आयोजित पार्टीको सल्यान-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले रास्वपा लगायत पछिल्लो समय उदाएका नयाँ दलहरूप्रति लक्षित गर्दै पुरानो पुँजीवादी व्यवस्थाकै वकालत गर्नेहरू नयाँ हुन नसक्ने तर्क गरे।

उनले भने, ‘अहिले मानिसहरूले नयाँ र पुरानोको कुरा गरेका छन्। के हो नयाँ ? उदार पुँजीवाद र दलाल पुँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ? सबभन्दा पुरानो तपाईंहरू हो भन्ने मेरो आरोप छ।’

दाहालले देशको व्यवस्था बदल्ने र अग्रगामी एजेन्डा स्थापित गर्ने शक्ति नै वास्तविक अर्थमा नयाँ हुने जिकिर गरे।

उनले भने, ‘गणतन्त्रभन्दा नयाँ विचार कसैले ल्याएको छ देशमा ? आजको सबैभन्दा नयाँ भनेको गणतन्त्र हो, जसको नेतृत्व हामीले गर्‍यौं। ७२ को संविधानभन्दा नयाँ केही छ ? महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम र थारुलाई पहिचान र अधिकार दिनेभन्दा नयाँ मुद्दा अरु कसैले ल्याएको छ ?’

उनले नयाँ र पुरानोको निधो विचार, एजेन्डा र सङ्घर्षले गर्ने भन्दै गर्वका साथ जनतामा जान कार्यकर्तालाई निर्देशन दिए।

‘त्यसैले गर्वका साथ भन्नुस् सबैभन्दा नयाँ हामी हौं,’ दाहालले भने, ‘यो राष्ट्र र जनताको बृहत्तर हितका निम्ति, राष्ट्रिय एकता र परिवर्तनका निम्ति हाम्रो पार्टी नै सबैभन्दा नयाँ र नेतृत्वदायी शक्ति हो।’

प्रकाशित: २३ माघ २०८२ १५:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App