२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

आगामी निर्वाचनमा नेकपा देशको पहिलो शक्ति बन्छ: प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनमा आफ्नो पार्टी देशको पहिलो शक्ति बन्ने दाबी गरेका छन्।

शुक्रबार काठमाडौंमा आयोजित पार्टीको सल्यान-काठमाडौं सम्पर्क मञ्चको परामर्श कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

प्रचण्डले निर्वाचनको माहोल आफ्नो पक्षमा देखिए पनि अन्तिम परिणाम नआएसम्म सतर्क रहनुपर्ने बताए।

‘चुनाव जितिसकियो, अब घोषणा गर्न मात्र बाँकी छ भन्न सकिन्छ। तर, जबसम्म जनमतलाई मतपेटिकाभित्र सुरक्षित गरिँदैन र परिणाम आउँदैन, तबसम्म खेल धेरै हुन सक्छ,’ उनले भने, ‘त्यसैले सबैले आफ्नो मेहेनत बढाउनु जरुरी छ।’

देश राजनीतिक र संवैधानिक संकटमा परेको बेला आफ्नो पार्टी र नेता माधव कुमार नेपाल लगायतले ठूलो मेहेनत गरेर देशलाई दुर्घटनाबाट बचाएको उनले दाबी गरे।

हिजोका दिनमा विभिन्न २५ वटा घटकमा रहेका कम्युनिष्टहरू अहिले एकताबद्ध भएको र हजारौंको संख्यामा पार्टी प्रवेशको लहर चलेको भन्दै उनले खुसी व्यक्त गरे।

कार्यक्रममा प्रचण्डले सल्यान जिल्लाको राजनीतिक, सांस्कृतिक र कृषि क्षेत्रको योगदानको प्रशंसा गरे। उनले सल्यानका नेता प्रकाश ज्वालाले राजनीतिक परिपक्वता देखाएको र रमेश मल्लले जितको आधार तय गरेको भन्दै दुवै नेतालाई धन्यवाद तथा शुभकामना दिए।

उनले पाँचकुने तारा चुनाव चिन्हमा मतदान गरी प्रत्यक्ष र समानुपातिक दुवै तर्फबाट रेकर्ड कायम गर्न सल्यानबासीलाई अपिल गरे।

प्रकाशित: २३ माघ २०८२ १४:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App