नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको ‘लो-स्कोरिंग थ्रिलर’ खेलमा विराटनगर किंग्सले रोमाञ्चक जित हात पारेको छ।
कप्तान सन्दीप लामिछानेको जादुयी बलिङको मद्दतमा विराटनगरले बलियो मानिएको जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गरेको हो।
जितका लागि १३६ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२६ रनमा समेटियो।
जनकपुरको ब्याटिङ लाइनलाई ध्वस्त पार्न विराटनगरका कप्तान सन्दीप लामिछाने नायक बने। ४ ओभर बलिङ गरेका सन्दीपले १ मेडन राख्दै मात्र ११ रन खर्चेर ४ महत्वपूर्ण विकेट लिए।
उनले अनिल साह (४), लाहि रु मिलान्था (२३), संगित कुराय (०) र रुपेश सिंह (८) लाई पेभेलियन फर्काएपछि जनकपुर दबाबमा आएको थियो।
जनकपुरका लागि जान निकोल लोफ्टी–इटनले ३० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४१ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। सञ्जय कृष्णमूर्तिले २० रन र आरिफ शेखले १३ रन जोडे।
खेलको १७औं ओभरसम्म जनकपुर १११/५ को स्थितिमा थियो र जितका लागि १८ बलमा २५ रन आवश्यक थियो। तर, अन्तिम ओभरहरूमा विराटनगरका बलरहरूले कसिलो बलिङ गर्दै जनकपुरका ब्याटरहरूलाई हात खोल्ने मौका दिएनन्।
विराटनगरका लागि सूर्य तामाङले २ तथा मार्चन्ट डि लेन्ज र शुभम रन्जनले १–१ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगर किंग्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३५ रन बनाएको थियो।
विराटनगरको सुरुवात मिश्रित रह्यो। पावरप्लेमा १ विकेट गुमाएर ४० रन जोडेको विराटनगरका लागि ओपनर लोकेश बमले २६ बलमा २८ रन बनाए।
जर्ज मुन्से १० र मार्टिन गुप्टिल १३ रनमा आउट भएपछि विराटनगर केही दबाबमा परेको थियो।
तर, मध्यक्रममा शुभम रन्जन र बसिर अहमदले इनिङ सम्हाले। शुभमले २९ बलमा ३७ रनर बसिरले ३५ बलमा ३६ रनको योगदान दिँदै टोलीलाई सम्मानजनक स्कोरमा पुर्याए।
जनकपुरको बलिङमा रुपेश सिंह र संगीत कुरायले २–२ विकेट लिए भने आदित्य महताले १ विकेट हात पारे। ललित राजवंशी र किशोर महतोले कसिलो बलिङ गरे पनि विकेट लिन सकेनन्।
प्रकाशित: ८ मंसिर २०८२ १५:१६ सोमबार





