लिग च्याम्पियन चर्च ब्वाइज क्लब काठमाडौं २६ औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहीबार धरान रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा झापा ११ झापालाई टाइब्रेकरमा ३-१ गोल अन्तरले हराउँदै चर्च ब्वाइजले फाइनलको यात्रा सुरक्षित गरेको हो।
अब शनिबार (फागुन २ गते) फाइनलमा चर्च ब्वाइज क्लब र प्लानिङ् ब्वाइज युनाइटेड काठमाडौंबिच उपाधिको लागि प्रतिस्पर्धा हुनेछ। निर्धारित समयको खेलमा दुवै टीमले २-२ गोल गरी खेल बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा धकेलिएको हो।
टाइब्रेकरमा चर्च ब्याइजका गोलरक्षक प्रमिजय गच्छदार नायक बने। उनले झापाका रोहन थापा मगर, राजेश दाहाल र गौरभ धिमालका प्रहार रोक्दै आफ्नो टोलीलाई फाइनल पुर्याए। झापाका लागि प्रसान्त लक्समले मात्र गोल गर्न सफल भए।
टाइबेकरमा उत्कृष्ट प्रदर्शन गर्दै तीन गोल बचाएका गच्छदार म्यान अफ दि म्याच घोषित भए र नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। चर्च ब्याइज का लागि टाइब्रेकरमा एरिक विष्ट , रोहन कार्की र सुदिप श्रेष्ठले गोल गरेका थिए । खेलको ३ मिनट मै चर्च ब्याइजका लागि मिलन राई र १७ औ मिनेटमा यभियामी फुकुने गोल गरेका थिए भने २८ औं मिनेटमा अभिसेक लामाले आत्मघाती गोल गरेका थिए। उनको आत्माघाती गोल सँगै खेल २–१ मा पहिलो हाफ सकिएको थियो। खेलको ६१ औ मिनेटमा आरोन थापा मगरले फ्रिकिक मार्फत गोल गर्देै खेल २–२ बराबरीमा पुर्याएका थिए।
प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले नगद ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।
प्रकाशित: २९ माघ २०८२ १९:२३ बिहीबार





