१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

बुढासुब्बा गोल्डकप: जर्जियनलाई हराउँदै धरानको विजयी सुरुवात

२६ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लब विजयी भएको छ।

धरान-१६ स्थित रंगशालामा बिहीबार सम्पन्न खेलमा भारतको जर्जियन फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ गोल अन्तरले पराजित गर्दै आयोजक टोलीले सुखद सुरुवात गरेको हो।

निर्धारित समयको खेलमा दुवै टोलीबाट १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो। टाइब्रेकरमा पाहुना टोली भारतलाई निराश बनाउँदै आयोजक धरानले जित हात पारेको हो।

प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी कुल १० टोलीको सहभागिता रहेको छ। सहभागी टोलीहरूमा साविक विजेता एनआरटी, उपविजेता चर्च ब्वाइज युनाइटेड, सातदोबाटो युथ क्लब, नेपाल पुलिस क्लब, पोखराको लालीगुराँस एसोसिएसन र झापा-११ रहेका छन्।

त्यस्तै, विदेशी टोलीतर्फ भारतको जर्जियन क्लब र भुटानको रोयल थिम्पु एफसी सहभागी छन्।

प्रतियोगिताको विजेता टोलीले उपाधि ट्रफीसहित नगद १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई डियो स्कुटर प्रदान गरिनेछ भने प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’ लाई नगद १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।

यसअघि प्रतियोगिताको उद्घाटन धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघाले गरेका थिए। वि.सं. २०५५ सालदेखि सुरु भएको बुढासुब्बा गोल्डकप काठमाडौं उपत्यकाबाहिर निरन्तर सञ्चालन हुँदै आएको सर्वाधिक प्रतिष्ठित अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता हो।

प्रकाशित: २२ माघ २०८२ १९:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App