नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबार भएको दोस्रो खेलमा विराटनगर किङ्सले काठमाडौं गोर्खाजमाथि ५ विकेटको सानदार जित हात पारेको छ।
काठमाडौंले दिएको १३५ रनको मध्यम लक्ष्य विराटनगरले १७.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।
लक्ष्य पछ्याउने क्रममा विराटनगर किङ्सले विष्फोटक सुरुवात गर्यो। ओपनर जर्ज मुन्सीले आक्रामक ब्याटिङ गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याए। मुन्सीले मात्र १६ बलमा ५ चौका र २ छक्कासहित ३६ रन बनाए। अर्का ओपनर लोकेश बमले १० बलमा १४ रन जोडे।
मध्यक्रममा अनुभवी ब्याटर मार्टिन गप्टिलले १९ बलमा २५ रन र नरेन भट्टले ३० बलमा २४ रनको योगदान दिएपछि विराटनगर जिततर्फ उन्मुख भयो। वसिर अहमदले १९ रन बनाए।
अन्त्यमा कप्तान सन्दीप लामिछाने ९ र शुभम रन्जनेल ६ रनमा अविजित रहँदै टोलीलाई जित दिलाए।
काठमाडौंका बलर शहाब आलमले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए पनि सानो लक्ष्य भएका कारण हार टार्न सकेनन्। करण केसी, गेरहार्ड इरास्मस र सन्तोष यादवले १-१ विकेट हात पारे।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौँ गोर्खाजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३४ रन बनाएको थियो।
काठमाडौंको सुरुवात निकै खराब रह्यो। विराटनगरका तीव्र गतिका बलर मर्चेन्ट डी लांगेको घातक बलिङसामु काठमाडौंका टप अर्डर धर्मरायो। २९ रन जोड्दा ४ विकेट गुमाइसकेको काठमाडौं ठूलो संकटमा परेको थियो।
विकेटकिपर बेन चार्ल्सवर्थले ३३ बलमा ३२ रन बनाएर इनिङ सम्हाल्ने प्रयास गरे। तर, काठमाडौंलाई सम्मानजनक स्कोरमा पुर्याउने काम मोहम्मद आदिल आलमले गरे।
आदिलले अन्तिम ओभरहरुमा आक्रामक ब्याटिङ गर्दै २५ बलमा ४ चौका र २ छक्कासहित अविजित ४८ रन बनाए। सन्तोष यादवले पनि २४ बलमा २६ रन जोडे।
बलिङतर्फ विराटनगरका मर्चेन्ट डी लांगेले ४ ओभरमा १७ रन दिएर २ विकेट लिए। सन्दीप लामिछाने, सूर्य तामाङ र शुभम रन्जनेले १-१ विकेट लिए।
यो जितसँगै विराटनगर किङ्सले अंक तालिकामा महत्त्वपूर्ण २ अंक जोडेको छ।
प्रकाशित: ६ मंसिर २०८२ १८:४८ शनिबार





