काठमाडौं क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजुनाथ पाण्डे भारी मतान्तरसहित विजयी भएका छन्।
उनले उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङलाई फराकिलो अन्तरले पछि पार्दै सानदार जित दर्ता गराएका हुन्।
निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार पाण्डेले १८ हजार ७ सय ५७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी घिसिङले ११ हजार १ सय ७१ मत ल्याए।
त्यसैगरी, नेपाली कांग्रेसका रमेश अर्यालले ६ हजार र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का रामेश्वर फुयालले ३ हजार ८ सय १६ मत प्राप्त गरेका छन्।
शुक्रबार विजयी भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले मतदाताको शिर ननिहुरिने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन्। पद र मर्यादाभन्दा कामलाई प्राथमिकता दिने उनले प्रस्ट पारे।
उनले भने, ‘जुन विश्वासका साथ मलाई मतदान गरेर निर्वाचित गर्नुभएको छ, म मतदाताको शिर नझुक्ने गरी काम गर्नेछु। म हिजो पनि काम गरेर आएको मान्छे हुँ, पदीय मर्यादाभन्दा पनि काम ठूलो कुरा हो।’
रास्वपाको एजेन्डाअनुसार परिवर्तन सम्भव रहेको र जनताको घरदैलोमै पुगेर रायसल्लाह लिई सेवा गर्ने उनले जानकारी दिएका छन्।
प्रतिस्पर्धी कुलमान घिसिङलाई हराएको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा पाण्डेले निर्वाचनपछिको अवस्थामा कोहीप्रति पूर्वाग्रह नराख्ने बताएका छन्।
‘यो कोही हराउने वा जिताउने अनि नकारात्मक कुरा भन्दा पनि निर्वाचित भइसकेपछि कोहीप्रति आग्रह–पूर्वाग्रह राख्नु हुँदैन। निर्वाचनको क्रममा प्रतिस्पर्धा भयो, अब सबैलाई समेटेर रायसल्लाहको आधारमा अगाडि बढ्नेछौं।’ उनले
नागरिकले गृहमन्त्रीको रूपमा हेर्न चाहेको भन्ने प्रश्नमा पाण्डेले अहिल्यै त्यसबारे बोल्ने समय नभएको बताएका छन्। समग्र निर्वाचन नसकिएसम्म पदीय जिम्मेवारीको विषयमा बोल्नु हतारो हुने उनले औंल्याए।
उनले थपे, ‘यो विषय अहिले गर्ने होइन। आम निर्वाचन सम्पन्न भइसकेको अवस्था छैन। निर्वाचन सम्पन्न भएपछि पार्टीको निर्णय र पार्टीले दिने जिम्मेवारीको विषय हो, यसलाई लिएर कसैलाई उत्तेजित बनाउनु हुँदैन।’
काठमाडौं महानगरपालिकाका पूर्वप्रहरी प्रमुखसमेत रहेका पाण्डेसँग सार्वजनिक सेवा, सुरक्षा र प्रशासनिक व्यवस्थापनमा ३० वर्षभन्दा बढीको अनुभव रहेको पाइएको छ।
प्रकाशित: २२ फाल्गुन २०८२ २२:२३ शुक्रबार





-600x400.jpg)